वरिष्ठ पत्रकार भैरव रिसालको भोगाइको बन्यो तीज गीत, रचनाकार सुवासचन्द्र ढुंगेल (भिडिओसहित) – Nepal Press

वरिष्ठ पत्रकार भैरव रिसालको भोगाइको बन्यो तीज गीत, रचनाकार सुवासचन्द्र ढुंगेल (भिडिओसहित)

भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार आफ्नो ९५ औं जन्म दिन मनाए । उनै पत्रकार रिसालको जीवनको भोगाइको तीज गीत तयार गरिएको छ । जसका रचनाकार हुन् वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल ।

‘जति चोट दिन्छौं, देऊ मायालु’, ‘चोट के हो, व्यथा के हो’ जस्ता कालजयी गीतका रचनाकार ढुंगेलले ‘मेरो राजा’ बोलको तीज गीत ल्याएका हुन् । आइतबार उक्त तीज गीत र म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा गीतकार ढुंगेलले उक्त गीत वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइमा आफ्नो भोगाइ पनि मिसाएको जानकारी दिए ।

उक्त गीत ‘नारी जागरण तीज गीत’ को सज्ञा दिएका रचनाकार ढुंगेलले गीतमा श्रीमतीमार्फत आफ्ना श्रीमानलाई भ्रष्टाचार नगर्न सचेत गराएका छन् । श्रीमानले कालो धनबाट नौगेडी किनेर ल्याए त्यसले आफ्नो छाती बिझाउने तर इमानले किनेको पोतेले गला सजाउने भन्दै श्रीमतीले श्रीमानलाई अनियमितता र भ्रष्टाचार नगर्न खबरदारी गरेकी छन् ।

गीतबारे ढुंगेलले यसरी बयान गरे-

‘भक्तपुरमा हामीले वरिष्ठ पत्रकार भैरव रिसालको सम्मान कार्यक्रम गरेका थियौं । सम्मानको क्रममा उहाँले आफूले केही पैसा बढी आफ्नी श्रीमतीलाई बुझाए भने ‘कहाँबाट आयो यो पैसा, केही गलत काम त गर्नुभएन ? कालो धन त होइन ? यस्तो हो भने म निको मान्दिनँ’ भनेर सचेत गराएको सुनाउनुभयो । उहाँले यति भनेपछि मलाई यसले छोयो । अनि गीत बनाउनुपर्छ भन्ने सोचें । फेरि म विश्वविद्यालय अनुदान आयोगमा प्रमुख कार्यकारी अधिकृत हुँदा अनुदानसम्बन्धी भ्रष्टाचारका मुद्दा हुन्थ्यो । यस्तो वेला म आफैं सयौं पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छु । भ्रष्टाचार पुष्टि भए हत्कडी लाग्थ्यो । यसले पनि मलाई गीतलाई विस्तार गर्न सघायो ।’

नभन्दै गीतमा भ्रष्टाचार गरी कमाए भाेलि हातमा हत्कडी लाग्ने र त्यसले समाजमा उल्टै लाज हुने र सबैले गिज्याउने भन्दै श्रीमतीले श्रीमानलाई भ्रष्टाचार र आर्थिक अनियमितता नगर्न बारम्बार सचेत गराएकी छन् ।

‘श्रीमान त्यसै बिग्रिँदैन । श्रीमतीको कारण ऊ भ्रष्ट बन्छ, कालो धन थुपार्नतिर लाग्छ’, वरिष्ठ गीतकार ढंगेलले भने, ‘श्रीमती पनि त्यसै बिग्रिँदैन । श्रीमानको कारण नियन्त्रणबाहिर जान्छिन् । त्यसैले श्रीमान र श्रीमतीले एकअर्कालाई सत्मार्गमा दोहोर्‍याउनुपर्छ ।’

गीतमा श्रीमान बनेका कलाकार सुरेन्द्रले श्रीमती पूनमको चाहना होला भन्दै लाखौं रुपैयाँ घूस लिएर नाैगेडी, हार, महँगा साडीलगायत किनेर ल्याउँछन् । त्यत्तिकैमा श्रीमतीले कालो धनले ल्याएको नौगेडीले आफ्नो छातीमा बिझाउने र भ्रष्टाचार पुष्टि भए हत्कडी लाग्ने र समाजमा बेइज्जत हुने सुनाउँछिन् । त्यसपछि उनले आफ्नो साथीसँग पैसा सापटी मागेर श्रीमतीलाई सुनको बाला ल्याउँछन् । त्यसमा पनि श्रीमतीले प्रश्न गर्छिन् । सुरेन्द्रले साँचो बताएपछि मात्रै पूनम सुनको बाला लगाउन राजी हुन्छिन् ।

गीतकार ढुंगेलले बजारमा चलेको भन्दा फरक धारको तीज गीत ल्याएर देशप्रति आफ्नो जिम्मेवारीबोध गरेको सुनाए ।

‘आजभोलि बजारमा पेटीकोट, के के जाति अश्लील तीज गीत चलेका छन्’, उनले भने, ‘तर, मैले चलाउन गीत लेखेको होइन । देशप्रति आफ्नो जिम्मेवारीबोधको लागि लेखेको हो । देश श्रीलंका बन्दैछ भनेर हल्ला फैलाइएको छ । यदि नेता, कर्मचारी सबैले भ्रष्टाचार गर्ने हो भने ढिलोचाँडो देश श्रीलंका बन्न बेर लाग्दैन ।’

म्युजिक भिडिओसहितको उक्त गीतको आइतबार चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सार्वजनिक गरेका हुन् । नायक खड्काले गीत र भिडिओ राम्रो बनेको प्रतिक्रिया दिए ।

गीतकार ढुंगेलका क्लासमेट खड्काले उनी स्वामीमानी लेख भएको तर यो गीतको प्रायोजनको लागि अख्तियार, शिक्षा मन्त्रालयलगायत धाएको भए सजिलै पाउने बताए ।

गीतमा बुनु श्रेष्ठ र रीतु कँडेलले आवाज दिएका छन् । त्यस्तै संगीत विनोदराज ढुंगेलले भरेका छन् । गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडिओमा सुरेन्द्र बसेल र पूनम श्रेष्ठले अभिनय गरेका छन् । भिडियाे रचनाकार ढुंगेलकाे अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *