अब त्रिविका विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसीप गर्न पाउने – Nepal Press

अब त्रिविका विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसीप गर्न पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसीप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरुमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रतिविद्यार्थी नगद ३० हजार रुपैयाँ प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसीपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित “नेपाल बैंक कर्पोरेट लिडरसीप अर्वाड” समेत प्रदान गर्नेछ ।

नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले सहकार्यका लागि वुधबार हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *