डिजिटल करेन्सी कारोबारका लागि अवधारणा पत्र तयार – Nepal Press

डिजिटल करेन्सी कारोबारका लागि अवधारणा पत्र तयार

काठमाडौं । नेपालमा पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन सकेर कन्सेप्ट प्रतिवेदन मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाएको छ ।

नेपालले अबको एक महिना भित्रमा सो प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गर्ने जनाएका छन् । अहिले विश्वभर डिजिटल करेन्सीको अवधारणा आइरहेको छ । केही देशले यसको प्रयोग समेत गरेका छन् । कार्यकारी निर्देशक नेपालले विश्वका धेरै मुलुकमा डिजिटल करेन्सीको विषयमा अध्ययन भइरहेको बताए ।

विश्व भरको केन्द्रिय बैंकको छाता संगठन बैंक फर इन्टरनेशनल सेटलमेन्टले डिजिटल करेन्सी प्रयोगमा ल्याउन केन्द्रिय बैंकहरुलाई सुझाव दिएसँगै विश्वका धेरैजसो केन्द्रिय बैंकहरुले डिजिटल करेन्सीका विषयमा अध्ययन गरिरहेको नेपालको भनाइ छ । नाइजेरिया, बहमास जस्ता देशले भने यसको लागु समेत गरेका छन् ।

नेपालमा हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा कारोबार गर्ने गरी राष्ट्र बैंक अघि बढेको छ ।

राष्ट्र बैंकको आफ्नै एपमार्फत कारोबार

नेपालमा अहिले भौतिक रुपमै उपस्थित भएर नगद कारोबार गर्नेहरुको संख्या अझै पनि ठूलो छ । केन्द्रिय बैंकले नगदरहित कारोबारलाई निरुत्साहित गर्न १० लाख माथिको कारोबार नगद गर्न नपाइने व्यवस्था गरेको छ ।

अहिले नेपालमा रहेका केही अनलाइन पेमेन्ट एपमार्फत पनि कतिपयले डिजिटल कारोबारको अभ्यास गररहेका छन् । यद्यपि अनलाइनबाट पेमेन्ट गर्दा रकम सम्बन्धित ठाउँमा पुग्यो की पुगेन भन्ने डर अझै बाँकी नै छ ।

एपमा भएको रकम आफ्नै गोजीमा भएको जस्तो महसुस अझै हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले यस्तो अवस्था सृजना नहुने गरी आफ्नै एपमार्फत कारोबार गर्ने गरी अध्ययन गरेको प्रमुख कार्यकारी निर्देशन नेपालले बताए ।

पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीले निकै चर्चा पाएको छ । नेपालमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार मानिन्छ । यस्तो बेला राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो । कार्यकारी निर्देशक नेपालले भने डिजिटल करेन्सीले क्रिप्टोकरेन्सीलाई मुलुकमा निरुत्साहित गर्ने बताए ।

क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीमा के छ फरक ?

डिजिटल करेन्सी भनेको कुनै पनि मुलुकको केन्द्रिय बैंकले जारी गर्ने अभौतिक मुद्रा अर्थात अहिले चलनमा रहेको नोटको डिजिटल स्वरुप हो । यो सरकारी तबरबाट जारी हुने राष्ट्र बैंकले जनाएको छ । तर क्रिप्टोकरेन्सी भनेको निजीस्तरबाट हुन्छ ।

क्रिप्टोकरेन्सी सम्पत्ति हो, यो तलमाथि (घटबढ) हुन सक्छ । डिजिटल करेन्सीको जमानत वा ग्यारेन्टी केन्द्रीय बैङ्क र सरकारले लिएको हुन्छ । क्रिप्टोकरेन्सीको ग्यारेन्टी कसैले लिँदैन । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक हो । नेपाल राष्ट्र बैंकले यस्तो खालको कारोबार नगर्न/नगराउन पटक पटक सूचना जारी गर्दै आएको छ ।

डिजिटल करेन्सीको कानुन नै छैन

नेपालमा डिजिटल करेन्सी चलनमा ल्याउनका लागि अहिलेको विद्यमान कानुनमा व्यवस्था नभएको र यसको संशोधन भएपछि मात्र डिजिटल करेन्सी कार्यान्वयनमा जाने नेपालको भनाइ छ ।

केन्द्रिय बैंकले कसेप्ट रिपोर्टमाथि कसरी जाने, यस्तो करेन्सीको प्रभावकारीता कसरी बढाउने भने । छलफल गर्नेछ । डिजिटल करेन्सीका लागि एप बनाउन कसलाई दिने, नोट भन्दा डिजिटलको लागत कति लाग्छ जस्ता विषयको गहन छलफल हुने बताइएको छ । विद्यमान राष्ट्र बैंक ऐन नै संशोधन गरेपछि मात्र कार्यान्वयनमा लैजाने केन्द्रिय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *