किरणको जीवनमा प्रेमको किरण छर्ने कञ्चन छिन् यति ग्ल्यामरस (तस्बिरहरु) – Nepal Press

किरणको जीवनमा प्रेमको किरण छर्ने कञ्चन छिन् यति ग्ल्यामरस (तस्बिरहरु)

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान गाेलकिपर  किरण चेमजोङ मैदानमा विपक्षीका कडा–कडा प्रहारहरु रोक्न माहिर छन् । कहिले लम्केर, कहिले लडेर त कहिले उफ्रेर आजका दिनसम्म उनले सयौं प्रहारहरुलाई निस्तेज बनाइसके । तर, मैदानबाहिरको एउटा शसक्त प्रहारले भने उनलाई कक्रक्कै पारिदियो ।

यो प्रहार अरु कसैको नभएर एक फ्यान गर्लको थियो । उनले किरणलाई फुटबलले होइन, आफ्नो मायाको झटारो हानेर घायल पारिदिएकी छन् । उनी हुन् कञ्चन निराैला ।

पेशाले एयरहोस्टेस कञ्चन श्री एयरलाइन्समा कार्यरत छिन् । सुन्दरतामा उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । उनी एक फ्यानगर्लका रुपमा नेपाली फुटबलका लिजेन्डसँग नजिकिएकी थिइन् । कहिलेबाट उनले किरणको दिलमा राज गर्न सफल भइन् त्यो त थाहा भएन, तर अब उनीहरुको प्रेम सम्बन्ध अफिसियल भइसकेको छ । हिजो माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै किरणले कञ्चनलाई दुनियाँसामू परिचित गराइदिए । आफ्नो टिमका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइदिएपछि यो जोडीको विवाह पक्का भएको छ ।

करिब डेढ वर्षअघि स्वदेशमै आयोजित थ्रि नेसन्स कपमा सम्भवत पहिलोपटक कञ्चनले किरणलाई भेट्टाएकी थिइन् । किरणसँग फोटो खिच्ने चाहने फ्यानहरुको लाममा उनी पनि थिइन् । घुँडामा ठूलो भ्वाङ परेको पाइन्ट लगाएकी कञ्चन किरणसँग क्यामराको फ्रेममा अटाउन पाउँदै मख्खै देखिन्थिन् ।

उक्त दृष्यको भिडियो फुटेज टिकटकमा आएपछि कञ्चनको सुन्दरताको तारिफ भएको थियो । किरणले भने उनलाई त्यति ध्यान दिएका थिएनन् ।
त्यसपछिका दिनहरुमा उनीहरु के–कसरी नजिकिए, कसले प्रेम प्रस्ताव राख्यो, कहाँ कहाँ डेट गए आदि इत्यादि कुराहरु कमैलाई थाहा छ । यद्यपि, निकटस्थहरु भने उनीहरुको सम्वन्धबारे जानकार थिए । अब उनीहरुले कहिले लगनगाँठो कस्ने हुन्, प्रतिक्षाको विषय बनेको छ । अहिले चाहिँ कञ्चनका केही सुन्दर तस्वीरहरु हेरौं, जुन हामीले उनकै सामाजिक सञ्जालबाट ‘चोरी’ गरेका हौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *