भारतसँग लज्जास्पद हार : कहाँ चुक्यो नेपाल ? – Nepal Press

भारतसँग लज्जास्पद हार : कहाँ चुक्यो नेपाल ?

काठमाडौं । खेलमा जित हार स्वाभाविक हुन् । कहिलेकाहीँ कमजोर भनिएका टोलीले पनि बलिया टोलीलाई स्तब्ध बनाउँछन्। तर हार स्वाभाविक भए पनि त्यसमा देखिने अन्तर भने अस्वाभाविक हुन सक्छ ।

जस्तो की भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आइतबार राति नेपाल घरेलु टोलीसँग पराजित मात्र भएन, ८ गोल बेहोरेर यति बेला ‘सक्ड’ छ। दक्षिण एसियाली फुटबलमा नेपालविरुद्ध कुनै पनि उमेर स्तर (सिनियरसहित)मा यति धेरै गोल एकै खेलमा भएको थिएन ।

दक्षिण एसियाका हरेक प्रतियोगिताका उपाधि दाबेदारका रूपमा प्रस्तुत हुने नेपालका लागि यो नतिजा बिर्सनै नसक्ने बनेको छ। नेपाली टोली साफ यू-१९ च्याम्पियनसिपका तीन संस्करणमध्ये सुरुका दुई संस्करण विजेता हो ।

उपाधि जित्नुलाई मात्र सबैभन्दा बलियो मान्ने आधार नलिए नेपाल र भारत दक्षिण एसियाका सबैभन्दा बलिया टोली हुन् । यी दुई टोली साफ स्तरको फुटबलमा पटक पटक फाइनलमा भिडेका छन् । गत वर्ष मात्र साफ च्याम्पियनसिपको फाइनलमा यी दुई टोली भिडेकामा नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो।

यही कारण नेपाल र भारत दक्षिण एसियाका चिर प्रतिद्वन्द्वी मान्ने गरिन्छ। सन् २०१५ मा आयोजना भएको पहिलो साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई हराएर २२ वर्षपछि कुनै पनि स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको थियो।

सन् २०१७ मा आयोजना भएको दोस्रो संस्करण पनि नेपालले जित्दा लिग चरणमा भारतलाई २-० गोलले हराएको थियो। त्यसयता भने यो उमेरस्तरको प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक छैन । सन् २०१९ मा आयोजना भएको तेस्रो संस्करणमा नेपाल फाइनल पुग्न सकेको थिएन। यस पटकदेखि भने यू-२० स्तरमा साफ च्याम्पियनसिप आयोजना सुरु भएको हो । पहिलो खेलमा मालदिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले हराएपछि नेपाली टोली माथिल्लो स्तरमा देखिएको थियो यस पटक । त्यसैले पनि भारतसँग अनुकूल नतिजा निकाल्नेमा विश्वस्त थियो । तर नेपालले आफ्नो विश्वासमा धोका खायो ।

पहिलो हाफमा केवल १-० गोलले पछाडि परेको नेपालले मध्यान्तरपछि ७ गोल बेहोरेको थियो। पहिलो हाफसम्म खेल प्रतिस्पर्धात्मक नै देखिएको थियो, खेल कसले जित्ला भनेर अनुमान गर्न सक्ने अवस्था थिएन ।

सुरुका दुई खेलमा ७ गोल गरेर, एक गोल पनि नबेहोरेको नेपाली टोलीमाथि जितेको अपेक्षा स्वाभाविक थियो। कम्तीमा बराबरीको नतिजामा पनि नेपाल फाइनल पुग्न सक्ने सम्भावना रहन्थ्यो । तर हार अनि फराकिलो गोल अन्तरपछि नेपाली टोली राउन्ड रोबिन लिगको समाप्तिमा शीर्ष दुईमा रहने सम्भावना कमजोर बनेको छ।

३ खेलपछि बंगलादेशको ९ तथा नेपाल र भारतको ६/६ अंक छ। लिग चरणको अन्तिम खेलमा मङ्गलवार नेपालले बंगलादेश र भारतले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा श्रीलंकालाई १-० गोलले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई २-१ र तेस्रो खेलमा मालदिभ्सलाई ४-१ गोलले हराएको थियो ।

भारत दोस्रो खेलमा श्रीलंकालाई ४-० गोलले हराउँदै फाइनल पुग्ने होडमा देखिएको थियो ।

एसियाली स्तरको फुटबलमा बेहोर्ने नतिजाको झल्को

नेपालले विश्वकप छनोट होस् वा एसिया कप छनोटमा फराकिलो गोल अन्तरको हार नेपालले पटक पटक बेहोरेको छ। सन् २००३ मा आयोजित एसिया कप छनोटमा नेपालले दक्षिण कोरियासँग १६-० गोलको हार बेहोरेको थियो ।

कुनै पनि उमेर स्तर (सिनियरसहित) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बेहोरेको त्यो अहिलेसम्मकै फराकिलो हार हो । सोही वर्ष नेपालले ओमानसँग ७-० र ६-० तथा अर्को खेलमा दक्षिण कोरियासँग ७-० गोलको हार बेहोरेको थियो। सन् २००३ मा भियतनामले पनि नेपाललाई ७-० गोलले हराएको थियो ।

सन् १९८४ मा यूएईले ११-०, ओमानले ८-०, साउदी खरबले ७-०, सन् १९८५ उत्तर कोरियाले ८(०, सन् १९८६ मा इरानले ६-०, सन् १९९७ मा इरान र जापानले समान ६-० गोलले हराएको थियो। सन् २००१ मा इराकले ९-१, सन् २०११ मा जोर्डनले ९-० र सन् २०१९ मा कुवेतसँग ७-० गोलले हराएको थियो ।

गत वर्ष इराकले ६-२ र ओमानले ७-२ गोलले हराएको थियो। यी सबै नतिजा नेपालले सिनियर अन्तर्राष्ट्रिय खेलमा ब्यहोरेका हुन् । दक्षिण एसियाली टोलीमध्ये कुनै पनि टोलीले नेपाललाई एकै खेलमा चार गोलभन्दा बढी गर्न सकेका थिएनन् ।

गोलरक्षकको गल्ती, पेनाल्टी नदेखेका रेफ्री अनि हताश रक्षापंक्ति

नेपालले ३२ औँ मिनेटमा पहिलो गोल बेहोरेको थियो। गोलरक्षक ईश्वर गुरुङले हातले बल पन्च गर्दा नजिकै रहेका भारतीय खेलाडीले सहजै गोल गरेका थिए ।

गुरुङले बल समात्न सक्ने अवस्थामा देखिए पनि उनीबाट गम्भीर गल्ती भएको थियो। दोस्रो हाफको सुरुवातमै नेपालले पेनाल्टी पाउने अवस्था देखिए पनि रेफरीले इन्कार गरिदिए ।

अफ साइड ट्रयाप बिट गर्दै अगाडी बढेका कप्तान आयुष घलानलाई भारतीय रक्षकले डीबक्सभित्र तानेर लडाएका थिए, ४८ औँ मिनेटमा। तर रेफरीले खेल रोकेनन् ।

त्यसको एक मिनेटमै भारतले अग्रता दोब्बर बनाएको थियो। त्यसपछि भारतले ५२, ६६,७१, ७८, ९० र इन्जुरी समयमा गोल थपेको थियो । निरीह देखिएको नेपाली रक्षापंक्तीसामू भारतले गोलको वर्षा गरिदिए । नेपाल खेलिरहेको छ भन्ने कतै देखिएन ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खराब नतिजाको जिम्मेवारी आफूले लिएका छन् । आइतबार मध्यरातमा फेसबुक स्टाटस लेख्दै उनले खेलाडीमा अनुभवको कमी रहेको तर क्षमता पनि उत्तिकै रहेको भन्दै टोलीलाई समर्थन गरिरहन आग्रह गरेका छन् ।

‘यो स्थितिबाट रिकभर हुन हामीसँग दुई दिन मात्र बाँकी छ’, बंगलादेशसँगको खेलमा अपेक्षा राख्दै प्रशिक्षक केसीले भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर