बुटवलमा २१ खेलाडीलाई विष्णु पौडेलले गरे सम्मान – Nepal Press

बुटवलमा २१ खेलाडीलाई विष्णु पौडेलले गरे सम्मान

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले खेलाडी गहना नभई राष्ट्रका पिलर रहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार बुटवलमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलाडी यो राष्ट्रका पिलर रहेकाले उनीहरूको संरक्षण र प्रवर्द्धनमा सरकारले यथेष्ट लगानी बढाउनुपर्ने बताए ।

‘सगरमाथा र लुम्बिनीको देश भनेर नचिन्ने राष्ट्रलाई समेत खेलमार्फत खेलाडी चिनाउने गरेका छन्, राष्ट्रका पिलर खेलाडीलाई संरक्षण गर्ने नीति राज्यले बनाउनुपर्छ, मेरो तर्फबाट पूरा गर्ने प्रतिबद्धता गर्दछु’, उनले भने ।

राज्यले पूर्वाधारमा लगानी गरे मात्र खेल क्षेत्र बलियो हुने अनि मात्र देशको गरिमा बढ्ने उनको भनाइ थियो । अहिले पनि धेरै खेलाडी विभिन्न कारणले पलायन भइरहेको बताउँदै त्यस्ता खेलाडीलाई नेपालमै राख्न र उनीहरूको संरक्षणका लागि राज्यको नीति आवश्यक रहेको पौडेलले बताए ।

एमाले सरकारमा रहँदा खेल र खेलकुदका क्षेत्रमा गरेको लगानी खेल प्रेमीलाई जानकार भएको बताउँदै उनले खेलाडीको आत्मबल बढाउन, नियमित अभ्यासका साथै नियमित खेलहरू सञ्चालनका लागि खेलकुद क्षेत्रमा लागेका सङ्घसंस्थाहरू क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

एकेडेमीले विभिन्न विधाका खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्डका विजेता २१ जनालाई सम्मान गरेको एकेडेमीका जिल्ला अध्यक्ष मणिरन्त भण्डारीले बताए ।

उनीहरूलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, एकेडेमीका उपाध्यक्ष देव गुरुङ, सचिव डा. शक्ति बस्नेत, क्रिकेट विभाग प्रमुख शक्ति गौचन लगायतले सम्मान गरेका थिए ।

त्यस्तै दुबईमा भएको एसियन कप अन्डर १९ का कप्तान देव खनाल, अन्डर १९ आईसिई वेमेन वल्डकप क्यालिफायरकी क्याप्टेन कृतिका मरासिनीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै क्रिकेट विभागका प्रमुख शक्ति गौचनले अझै पनि खेलाडीको विकास र पूर्वाधार निर्माणमा सरकार कम लगानी गरेको बताए ।

खेलकुदको क्षेत्रबाट विश्वलाई चिनाउने खेलाडी पछिल्लो समय विदेश पलायन भइरहेको भन्दै खेलाडीलाई नेपालमै बाँच्न सक्ने गरी आर्थिक रूपमा बलियो बनाउन पनि सरकार लाग्नुपर्ने बताए ।

एकेडेमीका सचिव डा. शक्ति बस्नेतले नयाँ खेलाडी उत्पादन, उनीहरूको प्रोत्साहनका लागि एकेडेमीले नयाँ कार्यक्रमहरू ल्याउन लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर