एलिस राईको ‘स्कुल प्राङ्क’ ट्रेन्डिङ १ मा, तर पहिलो पार्टभन्दा दम अलि कम – Nepal Press

एलिस राईको ‘स्कुल प्राङ्क’ ट्रेन्डिङ १ मा, तर पहिलो पार्टभन्दा दम अलि कम

काठमाडौं । आफूलाई ‘प्राङ्कस्टार’ भन्नेहरुको भिडमा एलिस राई फरक नाम हुन् । उनी अरूले झैँ मान्छेलाई आतंकित बनाएर वा रुवाएर कन्टेन्ट बनाउँदैनन् । बरु आफैँ अनेक खालका उटपटाङ हर्कतहरु गरेर मनोरञ्जन दिने कोसिस गर्छन् ।

एलिसका प्राङ्कहरुको कुरा गर्दा सबैभन्दा लोकप्रिय र सिर्जनात्मक मानिएको प्राङ्क हो– भाइस प्रिन्सिपल । काठमाडौंका दुई वटा स्कुलमा ‘नयाँ भाइस प्रिन्सिपल’ को अवतारमा पुगेर उनले शिक्षक–शिक्षिकाहरूलाई बहुतै ल्याङ गरेका थिए । करिब तीन वर्षअघि अपलोड गरिएको उक्त प्राङ्क २९ लाखपटक हेरिएको छ भने झण्डै १० हजार कमेन्ट आएका छन् ।

त्यही सुपरहिट प्राङ्कको बहु-प्रतीक्षित पार्ट २ राईले भर्खरै ल्याएका छन् । आउनासाथ हट-केक बनेको यो प्राङ्क अहिले नेपालको युट्यूवको एक नम्बर ट्रेन्डिङमा छ । एक हप्ताअघि सार्वजनिक भएको पार्ट २ ले अहिलेसम्म करिब १२ लाख भ्यूज पाइसकेको छ भने ७ हजारभन्दा बढी कमेन्ट पनि आइसकेका छन् ।

पहिलेझैं यसपाला पनि एलिसले दुई वटा स्कुलमा गएर सञ्चालकहरुसँगको मिलेमतोमा शिक्षक–शिक्षिकालाई उल्लु बनाएका छन् । फरक यति मात्रै छ कि पहिले उनले टाइसुट लगाएका थिए भने अहिले दौरासुरुवाल लगाएका छन् । यद्यपि पहिलो पार्टजस्तो चोटिलो भने दोस्रो पार्ट अलि छैन । एलिसले ठाउँठाउँमा ‘ओभरएक्ट’ गर्दा चुकेका छन् । साथै, अनावश्यक रुपमा केही पुराना जोकहरु घुसाएका छन् । शिक्षक–शिक्षिकाहरुले बोल्दा ‘दम पुगेन’ भन्ने एलिसको यो प्राङ्कमा अलि दम नपुगेको महसुस हुन्छ ।

यद्यपि, यसमा रोचक संवाद र पेट मिचिमिच हाँस्ने दृश्यहरू नभएका होइनन् । कथित भाइस प्रिन्सिपलले अति फ्रस्टेट गर्दा पनि शिक्षक–शिक्षिकाको धैर्यता र विनम्रताले सबैको मन छुन्छ । निजी स्कुलका शिक्षक–शिक्षिकाहरू कति कडा अनुशासनभित्र बाँधिएका हुन्छन् भन्ने छनक पनि यो भिडियोले दिन्छ । अन्तिमतिर शिक्षिकाहरुले हाँसो थाम्न नसकेको तथा प्रिन्सीपललाई बोलाएर एलिस ग्वाँ ग्वाँ रोएका दृश्यहरू निकै रमाइला छन् ।

एलिसले ९ महिनापछि नयाँ प्राङ्क भिडियो लिएर आएका हुन् । उनका प्राङ्कको प्रतीक्षामा धेरै दर्शकहरू हुन्छन् । ‘चुरोट किन खाएको ?’ प्राङ्कबाट भाइरल बनेका एलिसका प्राङ्कहरु मौलिक र अर्ग्यानिक हुने गर्छन् । उनको सेन्स अफ ह्यूमर गज्जबको छ । एलिस विभिन्न टेलिसिरियलमा अभिनय पनि गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *