सबैलाई धन्यवाद दिँदै भुवनले भने- नेपाली सिनेमालाई फरक शिराबाट अघि बढाउँछु – Nepal Press

सबैलाई धन्यवाद दिँदै भुवनले भने- नेपाली सिनेमालाई फरक शिराबाट अघि बढाउँछु

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नवनियुक्त अभिनेता भुवन केसीले आफूलाई जुन घरले आश्रय दियो आज त्यसैको अभिभावक बनेको बताएका छन् ।

वुधबार पदभार ग्रहण गरेपछि शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले करिब चार दशक अघि जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको बताउँदै त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम नभएको उल्लेख गरेका छन् ।

तैपनि निरन्तर हिँडरहँदा आफूले पत्तै नपाई चालिस साल बिताएको केसीले स्टाटसमा लेखेका छन् । त्यसपछि कसो कसो यो क्षेत्र पनि आफ्नो कर्मघर बनेकाे उनकाे भनाइ छ । आफूले यो घरको स्याहारसुसार र रंगरोगनमा जवानी खर्चिएको बताए ।

‘मलाई जुन घरले आश्रय दिएको थियोे, आज म त्यही घरको अभिभावक बन्न पुगेको छु’, उनले भने, ‘तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रिलाई नयाँ उचाइमा पुर्‍याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।’

केसीले सामाजिक सञ्जालमार्फत सम्पूर्ण परिवारजन तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका हुन् । स्टाट्समा उनले मन्त्रिपरिषद् र नेपाल सरकारप्रति पनि आफू आभारी रहेको बताए ।

यस्तो छ केसीको स्टाटसः

नमस्कार म भुवन केसी,

सर्वप्रथम त चलचित्रकर्मीको सर्वोच्च संस्था नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकोमा मलाई शुभकामना व्यक्त गर्ने मेरो परिवार , देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक, वरिष्ठ चलचित्रकर्मी, समकालीन चलचित्रकर्मी, पेशागत संघ संस्था तथा पदाधिकारी र मलाई यो यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिने यहाँहरु सबैलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । साथै यो जिम्मेवारीका लागि योग्य सम्झने सन्चार तथा सूचना प्रविधि मन्त्रालय, सन्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यू, मन्त्रीपरिषद् तथा नेपाल सरकारप्रति पनि आभार प्रकट गर्दछु ।

आज भन्दा झण्डै चार दशक अघि मैले जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको थिएँ । त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम थिएन । तैपनि म र मेरो समूहले नेपाली सिनेमाको स्तर उन्नति र प्रगतिको लागि हरदम काम गरिरह्यौँ । र पत्तै नपाई चालिस साल बिताएपछि कसो कसो यो क्षेत्र पनि मेरो घर नै बनेको छ, कर्मघर । मैले यो घरको स्याहारसुसार र रंगरोगनमा जवानी खर्चिएको छु ।

हिजोबाट मेरो भूमिका फेरिएको छ, सम्मानित मन्त्री परिषद्को निर्णयले मेरो भूमिका झन् गहन र संवेदनशील बनाई दिएको छ । मलाई जुन घरले आश्रय दिएको थियोे, आज म त्यही घरको अभिभावक बन्न पुगेको छु । तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रिलाई नयाँ उचाइमा पुर्याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।

बदलिँदो समयको मागसँगै नेपाली सिनेमालाई पृथक शिराबाट अगाडि बढाउन सम्पूर्ण कलाप्रेमी, पत्रकार, उद्योग व्यवसायी, राजनीतिज्ञ, समाजसेवीलगायत सम्पूर्ण सरोकारवालाहरुको साथ, सहयोग, सल्लाह सुझावलाई आत्मसात् गर्दै आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने वाचा गर्दछु । फेरि पनि यहाँहरुले देखाउनु भएको सद्भावका आगि अनुग्रहित भएको स्मरण गर्दै भविष्यमा पनि यहाँहरुको स्नेहको अपेक्षा राख्दछु ।
– उही तपाईंहरुकै भुवन केसी।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *