सुन व्यवसायीकाे विलाैना: दृष्टिबन्धकी भन्दै राजीनामा पास गराएर घरबेटीले जग्गा हडपे – Nepal Press

सुन व्यवसायीकाे विलाैना: दृष्टिबन्धकी भन्दै राजीनामा पास गराएर घरबेटीले जग्गा हडपे

हेटौँडा । समस्या परेपछि आफ्नै घरभेटीसँग ५० हजार ऋण लिएका हेटौँडा–१३ का जगतबहादुर सुनारको परिवार जालसाजीको सिकार भएको छ ।

तत्कालीन हेटौँडा–३ पिपलबोटमा रहेको नियमराज शाक्यको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका पदमबहादुर सुनारले समस्या परेपछि २०५४ साल वैशाख १९ गते घरबेटी शाक्यसँग ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

दृष्टि बन्धकी गरेर ऋण लिएको भने पनि शाक्यले अनपढ भएको फाइदा उठाउँदै सुनारको हेटौँडा –१३ मा रहेको ११ कट्टा १६ धुर जग्गा राजीनामा गराएर आफ्नो नाममा पारेपछि आफूहरू सडकमा पुगेको सुनारको भनाई छ ।

आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै छोरा जगत बहादुर सुनारले आफू र बाबु भएर व्यवसायलाई बढाउन घरभेटी समेत रहेका शाक्यसँग ५० हजार ऋण लिन सहमति गरेको तर शाक्यले जग्गा दृष्टि बन्धकीको नाममा आफ्नो बाबुलाई जालझेल गरेर जग्गा राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएको बताए ।

उनले २०५४ साल वैशाख १९ गते दृष्टि बन्धकीको नाममा आफ्नो परिवारको जग्गालाई शाक्यले आफ्नो नाममा राजीनामा गर्न लगाएर आफ्नो परिवारलाई सडकमा पुर्‍याएको बताए ।

‘शाक्यले अनपढ बुबालाई झुक्क्याई राजीनामाको लिखित लेखिलेखाई गरेछन् । सुनारले भने, ‘बुबालाई विश्वास दिलाई पछि रकम बुझिलिएका बखत जग्गा फुकुवा गर्नेछु भन्दै शाक्यले विश्वासमा पारी उक्त जग्गा दृष्टि बन्धकी भनेर राजीनामा लिखित गर्दै आफ्नै नाममा पास गर्न लगाएछन् ।’

सुनारले आफ्नो जग्गा शाक्यको नाममा रहेको २०५९ सालमा थाहा पाएको बताए ।

उनले भने, ‘जसको घरमा वर्षौँ सुन पसल राखेर व्यवसाय गरेँ । विश्वासमा काम गर्‍यौ‌ । उसैले विश्वासघात गर्‍यो । जग्गा शाक्यको नाममा गएको भनेर थाहा पाएपछि हामी बाबुछोरा २०५९ सालमै शाक्यलाई भेट्न उनकै घरमा धेरै पटक गयौँ । तर उनले आफूले खरिद गरेको भन्दै हप्काएर हामीलाई थर्काए । सुनारले भने, २०६३ सालसम्म हामी बाबुछोरा जग्गा फिर्ता गर्न रकम चुक्ता गर्न पटक पटक प्रयास गर्‍यौ‌  । सोही वर्ष बुबाको निधन पनि भयो ।’

घरभेटी शाक्यलाई भेटेर बुबाले लिनुभएको ऋण चुक्ता गर्छु भनेर आग्रह गर्दा समेत शाक्यले कहिले काठमाडौं गएर आएर दिन्छु, कहिले बिरामी छु, कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आएको बताए ।

२०७८ मंसिरमा शाक्यले अभद्र व्यवहार गर्दै जग्गा आफूले खरिद गरेको बताउँदै खरिद गरेको जग्गा माग्न आएमा राम्रो नहुने भन्दै ज्यान लिनेसम्मको धम्की दिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै ५२ वर्षदेखि लेखापढीको काम गर्दै आएका उदयराज ओलीले सुनारले न्याय पाउनुपर्ने बताए । उनले दृष्टि बन्धकीको नाममा कानूनी रूपमा जग्गा अरूको नाममा गएको भए पनि सुनारको पैतृक सम्पत्तिमा हक रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै छिमेकीहरू सानु लामा र मनमाया गुरुङले पनि शाक्यबाट सुनारमाथि विश्वासघात भएको र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *