बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन, भागेर दुबइ पुगेको आशंका – Nepal Press

बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन, भागेर दुबइ पुगेको आशंका

काठमाडौं । जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयको विज्ञ टिमले तयार पारेको बजेटमा हस्तक्षेप गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी गरिएको छ । तर, घिमिरे अहिलेसम्म नेपथ्यमै छन् ।

स्रोतका अनुसार अर्थमन्त्रालयभित्र भएको अवैध क्रियाकलापमाथि छानविन गर्न संसदीय समितिको गठन भएसँगै उनी सम्पर्कविहीन भएका हुन् । उनको मोबाइल निरन्तर स्वीच्ड अफ छ । उनी भागेर भारतको कुनै स्थान वा दुबइ पुगेको अनुमान गरिएको छ ।

समितिमा घिमिरेलाई पनि बयानका लागि बोलाउने विषयमा छलफल भएको थियो । तर, उनी सम्पर्कमा नरहेको बुझिएपछि थप खोजिनीति नगरिएको स्रोतले बतायो । यदि विदेशमा रहेको भए इन्टरपोलमार्फत पक्राउ गरेर ल्याउन सकिने विकल्प हुँदाहुँदै समितिले बेवास्ता गरेको छ ।

को हुन् रघुनाथ ?

अर्घाखाँचीका बासिन्दा रघुनाथ घिमिरे घिमिरे नेपाल सरकारका पूर्वनासु हुन्, जसले लामो समय विभिन्न मालदार अड्डाहरुमा काम गरेका थिए । २०७५ साल फागुन १ गते अर्थ मन्त्रालयको जागिर छाडेर घिमिरेले सानेपामा चौधरी ग्रुपको नियुक्ति लिएको समाचारहरुमा जनाइएको छ ।

करिब १० वर्षको जागीर अवधि छँदै उनले पदबाट राजीनामा दिएर चौधरी ग्रुपमा छिरेको दाबी गरिएको छ । राजश्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरेसहित करिब आधा दर्जन कर्मचारीले जागीर छाडेका थिए ।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारअनुसार घिमिरेले २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समिति अन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रैणी) का रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

त्यही वर्षको चैत १२ गते उनले कर कार्यालय काठमाडौंमा खरदार पदमा सरुवा मिलाए । त्यसयता उनले अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान लगायतका निकायमा काम गरेका थिए ।

उनी राजस्वको कर्मचारी भएपछि ठूला करदाता कार्यालयमा धेरै समय बिताए । यही क्रममा ठूला व्यापारसँग हिमचिम बढाएको बताइन्छ ।

प्रतिक्रिया

One thought on “बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन, भागेर दुबइ पुगेको आशंका

  1. रघुनाथ भागेको होइन भगाईएको हो / उसलाई जमीन मुनि बाट भए पनि निकालेर केरकार गर्नु पर्छ, सत्य बाहिर आइहाल्छ / तर त्यो गर्ने कसैमा आँट छैन, अब जनताले नै त्यो काम गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *