अखाद्य वस्तु मिसाउने ९ उद्योगविरुद्ध अदालत र प्रशासनमा मुद्दा दर्ता – Nepal Press

अखाद्य वस्तु मिसाउने ९ उद्योगविरुद्ध अदालत र प्रशासनमा मुद्दा दर्ता

रुपन्देही ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले खाद्यवस्तुमा अखाद्यवस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ९ उद्योगविरुद्ध अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छ ।

न्युन गुणस्तरको उत्पादन गरेको र खाद्य ऐनअनुसारको मापदण्ड पलना नगरेको अभियोग यी सबै उद्योगका संचालकविरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पटक–पटक सचेत गराउँदा पनि मिसावटको मात्र बढी पाइएपछि जिल्ला यसरी मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख विमलकुमार दाहालले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा रहेको रम्भा फूड प्रोडक्टस्, भैरहवाको एक्वा नेपाल विश्लेरी, माया वाटर इण्डष्ट्रिज र एकता बेभरेज इण्डष्ट्रिज, तिलोत्तमामा रहेका पी.एम. वाटर इण्डष्ट्रिज प्रालि र झरना फुड्स प्रालि नवलपरासीको मध्यविन्दु नगरपालिका–१ को आशिर्वाद एग्रो एण्ड फूड्स प्रालि, अभिनाश अभिषेक ड्रिङ्स प्रालि तथा काठमाडौंको कि फुड्स इण्डष्ट्रिज प्रालिविरुद्ध मुद्दा दर्ता भएको हो ।

तिलोत्तमा नगरपालिका–९ मा रहेको रम्भा फूड प्रोडक्टस्को उत्पादन मिक्स ससमा बाक्लोपना कम भेटिएको, मिक्स ससमा कम्तिमा १५ प्रतिशत बाक्लोपना हुनुपर्नेमा रम्भाको उत्पादनमा १० प्रतिशतभन्दा रहेकाले उक्त उद्योगविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

यस्तै, मध्यविन्दु नगरपालिका–१ को आशिर्वाद एग्रो एण्ड फूड्स प्रालिको उत्पादन मिट मसलामा कुल भष्म बढी पाइयो । खानाका लागि बढीमा १० प्रतिशतभन्दा बढी भष्म हुनुहुँदैन । यही उद्योगकै सब्जी मसला, मिक्स मसलामा पनि कुल भष्म बढी भेटियो भने ज्वानोको उत्पादनमा लेबल र अनुज्ञा पत्र नै नलिइ उद्योग संचालन गरेको पाइएपछि खाद्य प्रविधिले आशिर्वादविरुद्ध तीन वटा मुद्दा अदालत र एउटा जिल्ला प्रशासनमा दर्ता गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा उपभोक्तामाथि खेलवाड गर्ने यस्ता ९ उद्योगविरुद्ध १२ वटा मुद्दा दायर गरेको हो ।

खाद्य ऐन २०२३ को २०७४ मा भएको संशोधनले उत्पादन गर्ने उद्योगले न्यून गुणस्त वा दुषित वा ढाटी झुक्याएमा संचालकलाई ५० हजार जरिवाना वा ५ वषै कैद वा दुबै हुनसक्ने व्यवस्था गरेको खाद्य अनुसन्धान अधिकृत श्रवणकुमार ढुंगानाले बताए । यस्ता उद्योगहरुलाई खाद्य ऐन २०२३ ले एकदेखि १० हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको र ऐनमा कडाई हुँदै गए पनि खाद्यवस्तु उत्पादन गर्ने उद्योगीहरुरुले मिसावट गर्न भने नछाडेका उनको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य ऋषि आजादले उपभोक्तालाई सचेत बनाउँदै गलत गर्ने उद्योगीव्यवसायीलाई कडा कारबाही गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *