जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन – Nepal Press

जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन

मुगु । छायाँनाथ रारा नगरपालिका– ३ की रामदेवी बुढा हरेक दिन साँझ–बिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैंले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैंभरि यसरी नै बेच्छिन् । बिहान–साँझ तरकारी बेच्न बजार आए पनि दिनभर खेतीपातीमै हुन्छिन् ।

अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो देखेर उनी यतातिर आकर्षित भएकी हुन् । रैथाने तरकारी जोगाउन र अर्गानिक खेतीमा जोड दिए पनि बजारमा भने यस्ता उत्पादनको मूल्य नपाउँदा उनी दिक्क मान्छिन् । उनी भन्छिन्, ‘लगानीअनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ ।’

उनका अनुसार तरकारी खेतीमा कहिल्यै पनि रासायनिक मल हाल्ने गरेको छैन । उनी भन्छिन्, ‘आफ्नै खेतबारी बिगार्ने रासायनिक मल किन हाल्नु र ? हामी त सधैं प्राङ्गारिक मल प्रयोग गर्छौं । तर, मेहनत धेरै उत्पादन कम हुन्छ । बजारले यो त देख्दैन ।’

रामदेवीका अनुसार मुगुमा अर्गानिक र रैथाने तरकारीको मूल्य नै छैन । यहाँका सर्वसाधारणले स्थानीय तरकारी फलफूल छाडेर आयातित तरकारी र फलफूललाई चर्को मूल्य तिर्ने गरेको उनी बताउँछिन् ।

मुगुलाई कर्णाली प्रदेशको अन्नबालीको भण्डार भनिन्छ । यहाँ उत्पादित रैथाने र अर्गानिक बाली निकै स्वस्थकर र स्वादिलो हुने प्रदेशभर विश्वास छ । परापूर्वकालदेखि नै यहाँका किसानले रैथाने अन्नबाली लगाउने र जोगाउँदै आएका छन् । तर, आफैंले जोगाएर ल्याएको उत्पादन हेपिएकोमा किसानहरू चिन्ता व्यक्त गर्छन् ।

छायाँनाथ रारा नगरपालिका- ३ की कुसुमदेवी कार्की पनि रामदेवी जस्तै खेतीकिसानी गर्छिन् । उनको पनि रामदेवीको जस्तै प्रश्न छ, ‘मुगुका अर्गानिक उत्पादनले किन मूल्य पाउँदैनन् ?’

उनका अनुसार अब स्थानीय सरकारले किसानको उत्पादन बिक्री र व्यवस्थापनमा जोड दिनुपर्छ । छायाँनाथ रारा नगरपालिकाले तरकारीलाई बजारीकरण र उचित व्यवस्थापनमा सघाउनुपर्छ । पालिकाले नै हाटबजार सञ्चालन गरेर कृषक र ग्राहकहरूलाई सहज बनाउन उनले माग गरिन् ।

मुगुका उत्पादनहरू विशेषगरी खुर्सानी, गोलभेँडा, प्याज, आलुलगायत तरकारी बिक्री नभएर कुहिने गरेका छन् । बिक्री नभएका कारण सदरमुकाम आएका किसानले त्यसै फाल्नेसमेत गरेको बताए ।

छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भाम मुगुमा हाटबजार सञ्चालनको तयारी भइरहेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *