एक वर्षमा १९ खर्बभन्दा बढीको आयात, व्यापारघाटा १७ खर्ब नाघ्यो – Nepal Press

एक वर्षमा १९ खर्बभन्दा बढीको आयात, व्यापारघाटा १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वस्तु तथा सेवा आयातमा १९ खर्ब रूपैयाँ नेपालबाट बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो एक वर्षमा २ खर्ब मात्र भित्रिएको छ ।

नेपालले गत आर्थिक वर्ष १६ खर्बको बजेट ल्याएको थियो । पछि मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्बमा झारेको थियो । यसै वर्ष बजेटको आकारभन्दा ठूलो आकारमा आयात भएको छ । अघिल्लो वर्ष नेपालले १५ खर्ब ३९ अर्ब रूपैयाँको आयात गर्‍यो । गत वर्षको तुलनामा यस वर्ष आयात २४ .७२ प्रतिशतले बढेको छ ।

नेपालको आर्थिक इतिहासमा आयात निर्यात दुवैमा यो रेकर्ड हो । यद्यपि आयातको तुलनामा निर्यात भने अत्यन्तै न्यून रहेको छ । यो सँगै मुलुकको व्यापारघाटा १७ खर्ब रुपैयाँ नाघेको छ ।

नेपालको व्यापार साझेदारका रूपमा १७१ देश छन् । २६ देशबाहेक सबै देशसँग घाटाको व्यापार गरेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारत र चीनसँग हुने गरेको छ । भारतसँग मात्र १० खर्ब ४४ अर्ब रुपैयाँको व्यापार घाटा छ । गत वर्ष नेपालले भारतबाट मा १२ खर्ब रूपैयाँभन्दा बढीको आयात गरेको छ । नेपालले भारतमा १ खर्ब ५५ अर्बको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा छ ।
मुलुक यतिबेला विदेशी मुद्रा सञ्चितिको दबाबमा छ ।

नेपालको सर्वाधिक घाटाको व्यापार हुने यी पाँच देश

भारत नेपालको सबैभन्दा बढी वस्तु आयात हुने ठाउँ हो । यही मुलुसँग नेपालको वैदेशिक व्यापारघाटा सर्वाधिक बढी छ । यो देशसँग १० खर्ब बढीको व्यापार घाटा रहेको छ ।

यस्तै दोस्रो छिमेकी देश चीनसँगको व्यापारघाटा २ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको छ । नेपालले चीनबाट २ खर्ब ६४ अर्ब रूपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात ८० करोड मात्र छ ।

इन्डोनेसिायसँग ५३ अर्ब २४ करोड रुपैयाँ व्यापार घाटामा छ । अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड, अष्ट्रेलियासँग २३ अर्ब रूपैयाँभन्दा बढीले व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ ।

यी देशसँग छ नाफाको व्यापार

नेपालले २६ देशसँग नाफाको व्यापार पनि गरेको छ । तर, यो व्यापार अत्यन्त न्यून छ । अल्जेरिया, अर्मेनिया, अजरबैजान, बरमुढा, कम्बोडिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, कोस्टारिका, डेनमार्क, इथियोपिया, घाना, ग्रिस, गिनिया, इटाली, किर्गिजिस्तान, माल्दिभ्स, माल्टा, मोरोक्का, मोनाक्कोलगायतका देश रहेका छन् ।

विगत पाँच वर्षको व्यापारघाटाको अवस्था

२०७८/७९ : १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ

२०७७/७८ : १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ

२०७६/७७ : १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ

२०७५/०७६ : १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ

२०७४/०७५ : ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *