मौद्रिक नीति : सेयर बजारलाई राहत कि आहत ! – Nepal Press

मौद्रिक नीति : सेयर बजारलाई राहत कि आहत !

काठमाडौं । सेयर बजार लगातार ओरालो लागेपछि आन्दोलित बनेका लगानीकर्ताको नेपाल राष्ट्र बैंकसँग सेयर सुधारका धेरै माग थिए ।

ती माग मौद्रिक नीतिमार्फत सम्बोधन गराउन लगानीकर्ताहरुले आमरण अनसन नै बसेका थिए । लगानीकर्ताको व्यापक दबाबका बीच सेयर बजारप्रति राष्ट्र बैंक केही लचक त बन्यो । एकातिरबाट लचक बनेको केन्द्रीय बैंक अर्कोतिरबाट कडा देखिएको छ ।

ऋण प्रवाहको सिमा घटाएको छ । १२ प्रतिशत ऋण प्रवाहको लक्ष्य राखेको छ । उत्पादनशील क्षेत्रलाई केन्द्रित गरिएको ऋण सेयर बजारका लागि कति लचक बन्छ भन्ने पनि हुन्छ । ब्याजको सिमामा वृद्धि गरेको बैंकले तरलता प्रवाहका टुल्सहरुमा पनि कसेको देखिन्छ ।

लगानीकर्ताको शतप्रतिशत माग पुरा नभए पनि केही सम्बोधन भएको भन्दै नेपाल इनभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अबको बजार सकारात्मकता तर्फ जाने विश्वास लिएका छन् । अहिले मौद्रिक नीति सार्वजनिक भएसँगै अबको सेयर बजार कता जाला भनेर विश्लेषण हुन थालेको छ ।

४/१२ को नीति संशोधन

लगानीकर्ताको व्यापक विरोधका बावजुद राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमामा सामान्य हेरफेर गरेको छ । ४ करोडको सिमा नभनेर अब समग्र बैंक तथा वित्तीय संस्था वा एउटैबाट १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसले १२ करोड रुपैयाँ ऋण लिन ३ वटा संस्था धाउनुपर्ने अवस्थाको अन्त्य गरेको छ । तर एउटै बैंकले सो परिणामको ऋण पत्याएन भने फेरि पनि अवस्था त्यस्तै हुने देखिन्छ ।

सेयर विश्लेषक डा. केशव श्रेष्ठले यसबाट साना लगानीकर्ताले लाभ लिन नसक्ने बताउँछन् । ठुला लगानीकर्ताका लागि राम्रै भए पनि साना लगानीकर्तालाई यसले कुनै असर गर्दैन ।

दुइ थरिको जोखिम भार

सेयर धितो कर्जामा लाग्दै आएको एकै खालको जोखिम भारलाई ऋणको रकमको आधारमा विभाजन गरिएको छ । सेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिम भारलाई दुइ थरि बनाएर राष्ट्र बैंकले ठुला लगानीकर्तालाई कसेको छ ।

विश्लेषक डा. केशव श्रेष्ठ केन्द्रीय बैंकले एकातिरबाट खुकुलो पारेको जस्तो गर्ने अर्को तर्फबाट कस्ने नीति लिएको बताउँछन् । राष्ट्र बैंकले २५ लाख रुपैयाँ सम्मको सेयर धितो कर्जामा जोखिम भार १ सय प्रतिशत कायम गरेको छ । त्यसभन्दा बढीको कर्जामा १५० प्रतिशत जोखिम भार कायम हुनेछ ।

नेपाल इनभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार लगानीकर्ताले जोखिम भार सय प्रतिशत बनाइदिएको भए सहज हुने बताउँछन् ।

मर्जरमा जाँदा सेयर कारोबार रोक्का नहुने

अहिले बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने प्रक्रिया अघि बढाएदेखि एकिकृत कारोबार नगरेसम्म सो सँस्थाको सेयर कारोबार रोक्का हुँदै आएको छ । कारोबार नहुँदा लगानीकर्ताले किनबेच गर्न पाउँदैनथे भने राज्यको राजस्वमा पनि असर पर्थ्याे ।

अब मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने व्यवस्था केन्द्रीय बैंकले खारेज गरेको छ । अब धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार सेयर कारोबार कति दिन रोक्का हुने भनेर निर्णय हुनेछ । यस व्यवस्थाबाट पुँजी बजारले भने राहत पाएको छ ।

यस्तै सिडि रेसियो खारेज गर्नुपर्ने लगानीकर्ताको माग हो तर केन्द्रीय बैंकले सिडि रेसियो खारेज नगरी सिडि रेशियो गणना गर्दा २०८० असार सम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *