भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व संकलन – Nepal Press

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजश्व संकलन

निर्यातभन्दा ४० गुणा बढी आयात

रुपन्देही । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले आर्थिकवर्ष २०७८/०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो ।

यसअनुसार लक्ष्यको ९०.९४ प्रतिशत राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ९९ अर्ब ६५ करोड राजस्व लक्ष्य तोकिएकोमा एक खर्ब १२ अर्ब ५४ करोड संकलन भएको थियो । जुन लक्ष्यभन्दा १२ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते बिलासिताका सामान आयात गर्दा शतप्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्रबैंकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै प्रतित–पत्र (लेटर अफ क्रेडिट) जारी गरेपछि भारतबाट आयात हुने विलासिताका वस्तुहरु ह्वात्तै घटेका थिए । जसले गर्दा पनि यसपटक राजस्व लक्ष्य भेटाउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।

राष्ट्र बैंकको परिपत्रमा २० प्रकारका बस्तुहरु आयात गर्दा अनिवार्य रुपमा मार्जिन लिई प्रतितपत्रमार्फत् मात्र आयात गर्ने ब्यवस्था मिलाउन निर्देशन थियो । भारत लगायत तेस्रो मुलुकबाट बिलासिताका सामान बढी आयात भएको र बिदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यस्तो ब्यवस्था गरिएको हो ।

भैरहवा भन्सार हुँदै आयात हुने सामाग्री घटेको हो भने राजस्व असुलीसमेत प्रभावित भएको हो । भन्सार कार्यालयका अनुसार आब ०७८/०७९ मा सबैभन्दा बढी राजश्व जीप, कार र भ्यानबाट संकलन भएको छ ।

जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजश्व संकलन भएको पासवानले जानकारी दिए । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट ५ अर्ब ७४ करोड ८८ लाख ६० हजार, एम.एस. विलेटबाट ४ अर्ब ४० करोड ५ लाख ९३ हजार राजस्व संकलन भएको छ ।

यस्तै, पेट्रोलबाट ४ अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट ३ अर्ब ४९ करोड ८ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट २ अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट २ अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व संकलन भएको छ ।

यसैगरी मोबाइलबाट एक अर्ब ४१ करोड ८७ लाख ६४ हजार राजश्व संकलन भएको छ । बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा करिब १ सय ५० भन्दा बढी प्रकारका वस्तुहरु आयात भएको छ ।

निर्यातको तुलनामा बढ्यो ४० गुणा बढी आयात

रुपन्देहीको बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात अधिक बढेको छ । स्वदेशी उत्पादन नहुँदा वर्सेनि बढिरहेको आयात–निर्यात बीचको अन्तर बढिरहेको छ । गत आर्थिक वर्ष २०७८/२०७९ मा बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात ४० गुणा बढी भएको छ ।

मुलुककै दोस्रो ठूलो रुपन्देहीको बेलहिया नाकाबाट आयात–निर्यातको खाडल आकासिँदै गएको छ । जसले गर्दा मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा मात्रै बेलहियाबाट २ खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँको विभिन्न मालवस्तु आयात हुँदा निर्यात भने ७ अर्ब ८८ करोड ४ लाख ३३ रुपैयाँको मात्रै भएको छ । निर्यातका तुलनामा आयात २ अर्ब ८९ अर्ब ९ करोड ३५ लाख ८६ हजारले बढी हो ।

आर्थिक वर्ष ०७७/०७८ मा पनि योनाकाबाट निर्यातका तुलनामा आयात २ अर्ब ७६ अर्ब बढी रहेको सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिए ।

बेलहिया नाकाबाट नेपाल भित्रिने हरेक सामग्रीमा सबैभन्दा बढी भारतबाट आयात गरिने वस्तु छन् । अन्य मुलुकबाट आयात गरिने बस्तु न्यून छन् । बेलहिया नाका हुँदै ९७ प्रतिशत आयात भारतबाट मात्रै हुने गर्छ । बाँकी ३ प्रतिशत आयात भने चीन लगायत तेस्रो मुलुकबाट हुने गरेको छ ।

भन्सार कार्यलयका अनुसार गत आर्थिक वर्षमा आयातबाट १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने निर्यातबाट राजश्व संकलन दर एकदमै न्यून छ । निर्यातबाट एक करोड ५० लाख ६९ हजार रुपैयाँ मात्रै राजश्व उठेको छ ।

बेलहिया नाकाबाट २०७८–०७९ मा जीप, कार र भ्यानहरु, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस विलेट, ग्लेज टाइल, पेट्रोल, हाइस्पीड डिजेल, एलपी ग्याँस, मार्बल स्याल्याब, मोबाइल, तयारी कपडालगायतको आयात अत्यधिक बढेको छ । खाद्यान्न र दैनिक उपभोग्यवस्तुको आयात पनि उस्तै बढी छ ।

नेपालबाट सेन्थेटिक यार्न, भटमासको प्रशोधित तेल, पिना, खोटो–रेजिन, खजुरको प्रशोधित तेल, लिडसिसा, चोकर, भुस, चाउचाउ, पास्ता, स्टीलका भाँडाकुँडा, कच्ची र डण्डी ट्युवहरु, जडीबुटी लगायतका सामान निर्यात हुँदै आए पनि न्यून मात्रामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *