अर्थमन्त्री प्रकरणः सीसीटीभीको हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाउने तयारी, पत्रकारसँग पनि सोधपुछ गरिने – Nepal Press

अर्थमन्त्री प्रकरणः सीसीटीभीको हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाउने तयारी, पत्रकारसँग पनि सोधपुछ गरिने

काठमाडौं । अर्थमन्त्रीमाथि छानविन गर्न गठित संसदीय समितिले मन्त्रालयमा राखिएको सिसिटीभीको हार्डडिक्स अनुसन्धानका लागि नेपाल प्रहरीको फरेन्सीक ल्याबमा पठाउने भएको छ । जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि हार्डडिक्स नै पठाउन लागिएको स्रोतले बतायो ।

संसदीय छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बेला अबैध व्यक्ति अर्थमन्त्रालयमा घुसपैठ गराएको बारे छानविन जारी राखेको छ । समितिका एक सदस्यले भने, ‘अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज आएन । अब सीसीटीभीमा प्रयोग भएको हार्डडिस्क नै नेपाल प्रहरीको ल्याबमा पठाउँदैछौं । यदि हार्ड डिस्क नै परिवर्तन गरिएको भए त्यहाँबाट पत्ता लाग्छ ।’

अर्थमन्त्रालयसँग छानविन समितिले जेठ १४ को सीसीटीभी फुटेज माग गरेको थियो । तर, जेठको फुटेज डिलिट भइसकेको बताएर मन्त्रालयले असारको फुटेज पठाएको छ । तत्कालीन अर्थमन्त्रीमाथिको पहिलो चरणको छानविन भोलि सकिने भएको छ । भोलि नै शर्मालाईसमेत बोलाएर स्पष्टिकरण सोधिने तयारी रहेको स्रोतले बतायो ।

पत्रकारसँग पनि सोधपुछ

अर्थमन्त्रालयमा घुसपैठसम्वन्धी समाचार लेख्ने पत्रिकाका रिपोर्टर र सम्पादकसँग पनि समितिले सोधपुछ गर्ने भएको छ । अहिलेसम्मको छानविनमा समाचारमा उल्लेख भएको पुष्टि हुने कुनै प्रमाण नभेटिएपछि पत्रकारसँग पनि सोधपुछ गर्न लागिएको हो । यस्तै समितिले भोलि पूर्व सचिवहरुसँग समेत छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *