राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हरिहर, संसदीय चुनाव लड्न रवि लामिछानेको अफर – Nepal Press

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हरिहर, संसदीय चुनाव लड्न रवि लामिछानेको अफर

काठमाडौं । हालै विवाह वन्धनमा बाँधिएका अभिनेता/ज्योतिष हरिहर अधिकारी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् । हिजो बसुन्धरास्थित पार्टीको कार्यालयमा नै पुगेर हरिहर र उनकी पत्नी नीता ढुंगानाले रविसँग लामो कुराकानी गरेका थिए ।

करिब १ घन्टा भएको कुराकानीमा रविले हरिहरलाई आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले बतायो ।

‘अब राजनीतिमा युवाहरु नै अगाडि बढ्ने हो, तपाईंलाई हाम्रो पार्टीका तर्फबाट चुनावमा सहभागी हुन अनुरोध गर्दछु,’ रविको आग्रहलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हरिहरको स्थायी घर दाङ हो । यद्यपि, उनी अहिले काठमाडौंका मतदाता हुन् । हरिहरले चाहेमा उनलाई काठमाडौं वा दाङबाट टिकट दिन रवि तयार रहेको स्रोतले बतायो । यसमा हरिहरले सोचेर निर्णय लिने बताएका छन् ।

स्वतन्त्र पार्टीमा आवद्ध हुन भने हरिहर सहमत भइसकेको स्रोतको भनाइ छ । उनी सक्रियरुपमा नै पार्टीमा लाग्ने र नीताले चाहिँ समर्थकको रुपमा मात्रै सो पार्टीलाई साथ दिने समझदारी भएको बुझिएको छ ।

हरिहरले हिजोको भेटघाटका क्रममा स्वतन्त्र पार्टीको कार्यालयको वास्तु समेत हेरिदिएका थिए । उनले कार्यालयभित्र सामान्य हेरफेर गर्न सुझाव दिएका छन् । हरिहरले रविको भविष्य भने हेर्न पाएनन् । रविको चिना टिपन नै उपलब्ध नभएकाले उनले भविष्य हेर्न नसकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *