उद्योगहरूले उत्पादन क्षमतामा ह्रास आएको परिसंघको निष्कर्ष – Nepal Press

उद्योगहरूले उत्पादन क्षमतामा ह्रास आएको परिसंघको निष्कर्ष

काठमाडौं । नेपाली उद्योगको उत्पादन क्षमतामा ह्रास आएको पाइएको छ ।

नेपाल उद्योग परिसंघले हालै सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकमा उद्योगहरूले उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको हो । दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरे । आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिकमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ ।

अध्ययन (माघ, फागुन र चैत्र) अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रैमासमा चालु पुँजी ३४.४ प्रतिशत ऋण लिएका थिए ।

अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनले २०७८/७९ को दोस्रो त्रैमासको तुलनामा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो ।

मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा दिएको सुझावसमेत प्रतिवेदनमा समावेश छ ।

कार्यक्रममा मन्त्री बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशील हुन सरकारलाई आग्रह गर्दै निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलोपटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको जानकारी दिए ।

उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनलको भनाइ छ ।

परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरूसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *