‘तपाईंहरुले मलाई ‘भगौडा’ भन्ने ? यस्तो फेक मिडियाहरुप्रति धिक्कार छ- ललित मोदी – Nepal Press

‘तपाईंहरुले मलाई ‘भगौडा’ भन्ने ? यस्तो फेक मिडियाहरुप्रति धिक्कार छ- ललित मोदी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले केही दिनअगाडि आफू पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेट गरिरहेको खुलासा गरे । माल्दिभ्स र सार्डिनियाको भ्रमण सकेर लण्डन फर्केका मोदीले सुस्मिता र आफ्नो तस्वीर शेयर गर्दै सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भएको र जिन्दगीको नयाँ पाना सुरु गर्न आँटेको खुलासासम्म गरे । उक्त पोष्टमा सुस्मिताले पनि सकारात्मक प्रतिक्रिया दिइन् ।

सो पोष्टपश्चात गसिप, ट्रोल र मिम्सको वर्षात नै भयो । ट्रोलको शिकार बन्नुपरेकाले आइतबार फेरि मोदीले ट्विटरमा एक लामो नोट साझा गरेका छन् । उनी लेख्छन्, ‘रङ ट्यागिङ गरेको भन्दै मिडियाहरु मलाई ट्रोल गर्नको लागि किन उत्तेजित छन् ? कसैले व्याख्या गर्न सक्नुहुन्छ, मैले इन्स्टाग्राममा केवल दुई तस्वीरहरू शेयर गरें र ट्याग पनि एकदम सही छ । मलाई लाग्छ हामी अझै पनि मध्ययुगमै बाँचिरहेका छौं, जहाँ दुई व्यक्ति साथी हुन सक्दैनन् । यदि केमेस्ट्री सही छ र समय राम्रो छ भने जे पनि हुनसक्छ।’

सुस्मितासँगको सम्बन्ध सँगसँगै उनले आफ्नी पूर्वपत्नी मीनल मोदीको बारे पनि स्टाटसमा केही उल्लेख गरेका छन् । ‘मलाई तपाईंहरु सबैलाई एउटा कुरा प्रबुद्ध गराउन मनलाग्यो । मेरी पूर्वपत्नी मीनल १२ वर्षसम्म मेरो सबैभन्दा मिल्ने साथी थिइन् जबकि उनी विवाहित थिइन् । उनी कुनै मेरी आमाको साथी थिइनन् । त्यो हल्ला निहित स्वार्थले फैलाइएको हो । यस्तो पागलजस्तो मानसिकताबाट बाहिर निस्किम ।’

आफ्नो सम्बन्धबाहेक मोदीले आफूमाथि लागेको आरोपबारे पनि प्रस्ट्याएका छन् । मिडियाले आफूलाई जथाभावी दर्जा दिएको र आफ्नोबारेमा गलत समाचार लेखेको मोदीको गुनासो छ । ‘तपाईंहरुले मलाई ‘भगौडा’ भने पनि मैले मेरो शीरलाई तपाईंहरूको भन्दा उच्च राखेको छु । वस यति भन्नुहोस् कि मलाई कुन अदालतले दोषी ठहर गरेको छ ? म भन्छु, कुनैले पनि छैन । यस्तो फेक मिडियाहरुप्रति धिक्कार छ’, उनी लेख्छन्, ‘मलाई तपाईंहरुले एउटा अर्को त्यस्तो व्यक्तिको नाम बताउनुहोस्, जसले आफूसँग जे छ त्यही कुराको सिर्जना गरी राष्ट्रलाई उपहार दिएको छ । सबैलाई थाहा छ, भारतमा व्यापार गर्न कति गाह्रो छ भनेर र सबैलाई यो पनि थाहा छ, मैले एक्लै नै कार्य गरेको हो ।’

मोदी इन्डियन प्रिमियर लिगका आयुक्त, संस्थापक र प्रथम अध्यक्ष हुन्, जुन सन् २००८ मा दक्षिण अफ्रिकामा भएको पहिलो टी- २० विश्वकपमा भारतको जितपछि सुरु भएको थियो । तर, आईपीएल २०१० को फाइनलपछि दुई नयाँ फ्रान्चाइजहरू (पूणे र कोच्ची) मा दुई धाँधली बोलपत्रहरूसँग मिलेर दुर्व्यवहार, अनुशासनहीन र आर्थिक अनियमितता गरेको आरोप लागेपछि मोदीलाई बीसीसीआईबाट निलम्बन गरिएको थियो । बीसीसीआईले उनको विरुद्ध अनुसन्धान सुरु पनि गर्यो र अन्तत २०१३ मा एक समितिले उनलाई यी आरोपहरूमा दोषी पाएपछि आजीवन प्रतिबन्ध लगाएको थियो ।

त्यसपश्चात उनी लन्डन सिफ्ट भए । यही केसलाई लिएर धेरैले उनलाई धाधँली गरेर फरार हुने र भारतको नाम माटोमा मिलाउने व्यक्तिको संज्ञा दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *