जमैकन फ्रेजर प्राइस बनिन् पाँचौंपटक विश्वकै तेज धाविका – Nepal Press

जमैकन फ्रेजर प्राइस बनिन् पाँचौंपटक विश्वकै तेज धाविका

लन्डन । जमैकन धाविका सेल्ली-आन फ्रेजर-प्राइस महिला एक सय मिटर दौडमा पाँचौंपटक विश्व च्याम्पियन बनेकी छन् ।
३५ वर्षीय फ्रेजर–प्राइसले १०.६७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हात पारेकी हुन् ।

दोस्रो र तेस्रो स्थानमा पनि जमैकन खेलाडी नै रहे । सेरिका ज्याक्सनले रजत र एलाइन थम्पसन हेराहले कास्य पदक जिते ।

फ्रेजर प्राइस एथलेटिक्सको ट्रयाकतर्फ एउटै व्यक्तिगत स्पर्धामा पाँचपटक विश्व च्याम्पियन बन्ने पहिलो खेलाडी बनेकी छन् ।

यसैगरी एथलेटिक्स विश्व च्याम्पियनसिपको महिला एक सय मिटर दौडमा एउटै देशका खेलाडीले तीनवटै पदक जितेको पनि यो पहिलोपटक हो । पुरुष एक सय मिटरमा पनि यसपटक तीनवटै पदक अमेरिकी खेलाडीले जितेका थिए ।

जमैकाले गत टोकियो ओलम्पिक र सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि महिला एक सय मिटरतर्फ तीनवटै पदक जितेको थियो ।

दुईपटककी ओलम्पिक च्याम्पियन फ्रेजर प्राइस सन् २००९ मा पहिलोपटक विश्व च्याम्पियन बनेकी थिइन् । उनले विश्व च्याम्पियनसिपमा मात्र हालसम्म १० पटक स्वर्ण पदक जितेकी छन् ।

एक सय मिटरबाहेक उनले बाँकी स्वर्ण दुई सय मिटर र एक सय मिटर चार गुणा रिलेमा प्राप्त गरेकी हुन् । सन् २०१७ मा छोरा जन्माएयता फ्रेजर प्राइसले विश्व च्याम्पियनसिपमा तीनपटक स्वर्ण पदक हात पारेकी छन् ।

‘मसँग यो क्षमता भएकामा र ३५ वर्षको उमेरमा पनि निरन्तरता दिन सकेकोमा आफूलाई निकै भाग्यमानी महसुस गर्छु । बच्चा जन्माएपछि पनि निरन्तरता दिन सकेर हरेक महिलालाई प्रोत्साहित गरिरहेको छु जस्तो लाग्छ, उनले भनेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर