नेपालको विर्सनलायक ब्याटिङ, नामिबियासँग ६३ रनले पराजित – Nepal Press

नेपालको विर्सनलायक ब्याटिङ, नामिबियासँग ६३ रनले पराजित

काठमाडौं- विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिबार राती सम्पन्न खेलमा नामिबियाले नेपाललाई ६३ रनले हराएको छ।

२ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा एक सय ३६ रनमा समेटियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, आसिफ शेखले ३४, मोहम्मद आदिल खानले २०, रोहित पौडेलले १७ र पवन सर्राफले १० रन बनाए। आरिफ शेखले ४, देव खनालले १ रन बनाए भने कुशल भुर्तेलले खाता खोल्न सकेनन्।

नेपालले चार रनका लागि अन्तिम चार विकेट गुमाएको थियो। दीपेन्द्र सिंह ऐरी दोस्रो रन लिनेक्रममा सातौँ विकेटका रुपमा रन आउट भएपछि सन्दिप लामिछाने र बासिर अहमदले खाता खोल्न सकेनन् भने सोमपाल कामी एक रन बनाएर आउट भए।

नामिबियाका बर्नार्ड स्कल्ट्ज एक्लैले पाँच विकेट लिए। जान फ्रानलिङ्कले पनि तीन विकेट हात पारे। स्कल्ट्जले ९.५ ओभरमा २ मेडन राखेर केवल २२ रन मात्र खर्चिएका थिए। नेपालले रन नजोड्दै भुर्तेललाई गुमाएको थियो ।

१८ रन जोड्दा दोस्रो विकेट गुमाएको नेपालले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेको थियो। त्यसपछि ८२-५ को स्थितीमा पुगेको नेपालले छैटौँ विकेटका लागि ३६ रनको साझेदारी गर्‍यो। आदिल छैटौँ विकेटका रुपमा खराब सटको शिकार बने। नेपाली ब्याट्सम्यानहरु नामिबियाका बलरसामु लगातार डिफन्सिभ देखिएका थिए।

रोहितले ५० बल खेलेर १७ रन बनाएका हुन् भने देवले ११ बल खेल्दै एक रन जोडेका हुन्। आरिफले १५ खेलेर ४ रन जोडेका थिए। शृंखलाअन्तर्गत नामिबियाले नेपालविरुद्ध लगातार दोस्रो खेल जितेको हो। जितसँगै नामिबिया १८ खेलबाट १८ अंक जोडेर पाचौँ स्थानमा उक्लिएको छ। १९ खेलबाट १७ अंक भएको नेपाल छैटौँ स्थानमा झरेको छ।

नेपालले नामिबियालाई ४ बल बाँकी रहदा एक सय ९९ रनमा सिमित गरेपछि जित हात पार्ने सक्ने अनुमान गरिएको थियो। नामिबियालाई समेट्न नेपालका सन्दीप लामिछानेले चार तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिएका थिए। नामिबियाले सातौँ विकेटका लागि ३९ र आठौँ विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो।

नेपालले शृंखलाको अन्तिम खेलमा आइतबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर