कृषिका पकेट कार्यक्रम कार्यकर्तामुखी हुँदा कार्यान्वयनमा समस्या – Nepal Press

कृषिका पकेट कार्यक्रम कार्यकर्तामुखी हुँदा कार्यान्वयनमा समस्या

रुपन्देही । कृषि पकेट क्षेत्रको छनोट र कार्यक्रम सञ्चालनमा जनप्रतिनिधिहरू कार्यकता र मतदातामुखी भएपछि रुपन्देही र पश्चिमनवलपरासीमा छनौट भएका योजना कार्यान्वयनमा समस्या देखिएको छ । स्थानीय आवश्यकताभन्दा पनि दबाबमा परेका योजना छनोट गर्दा कार्यान्वयन नभएकाले लक्ष्यअनुसारको काम नभएको कर्मचारीकै गुनासो छ ।

चालू आर्थिक वर्षमा रुपन्देही र नवलपरासीपश्चिमका स्थानीय तहले ३२ वटा पकेटका कार्यक्रम सञ्चालन गर्न सकेनन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २०७३ सालदेखि पकेट, ब्लक, जोन र सुपर जोन कार्यक्रम सञ्चालन गरेका थिए । तीन वर्षयता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् ।

तरकारी, च्याउ, केरा, मौरी, खाद्यान्य, बाख्रा, भैँसी र माछापालनतर्फ रुपन्देही र नवलपरासीपश्चिममा ९३ वटा पकेट सञ्चालन भएका थिए । जसमा रुपन्देहीमा १७ र नवलपरासीपश्चिममा १५ वटा पकेटका कार्यक्रम सञ्चालन हुन सकेनन् । अधिकांश स्थानीय तहले पशुपालनतर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषितर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मूख छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाले मकै, मौरी र बाख्रापालनका पकेट सञ्चालन गरेर सय प्रतिशत काम सम्पन्न गरेको छ भने नवलपरासीको सुस्ता गाउँपालिकाले पाँचवटा पकेटमा कुनै पनि सञ्चालन गर्न सकेन । एउटा पकेट दुई वर्षपछि संख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपर जोनमा स्तरबृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रुपान्तरित हुन सकेका छैनन् ।

एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । अधिकांश ठाउँमा कार्यविधि मिचेर कार्य सञ्चालन भैरहेको छ । प्राविधिकहरू कार्यक्रमबारे अनभिज्ञ हुनु र परियोजनाले पनि पकेटका कार्यक्रमलाई अपनत्व नदिँदा कमजोरी दोहोरिरहेको छ । परियोजनाको उद्देश्य प्राप्तिका लागि पनि तालिमको खाँचो भएको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् ।

बिहीबार रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा सार्वजनिक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । रुपन्देही जिल्लाका समन्वय प्रमुख उमाकान्त चपाईले योजनामा परेका कार्यक्रम पूरा गर्नका लागि समन्वय गर्न तयार भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *