सुदूरपश्चिमको बजेट : २९ दिन पछि छलफल, एकै दिनमा पारित – Nepal Press

सुदूरपश्चिमको बजेट : २९ दिन पछि छलफल, एकै दिनमा पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको हो । आज १० औँ अधिवेशनको १६ औँ बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

असार १ गते आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए । सत्तारुढ दलका सांसद र विपक्षी दलका सांसदहरूले तीव्र विरोध गरेका कारण बजेट प्रस्तुत भएको २९ दिन सम्म पनि यस विषयमा छलफल हुन सकेको थिएन । तर, आज एकै दिनमा छलफल सकेर बजेट पारित गरिएको हो ।
आज बिहान ११ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो । सरकार र प्रतिपक्षी दल वार्तामा रहेका कारण ११ बजेको बैठक १ बजे आह्वान गरियो त्यो बेला सम्म पनि सरकार र प्रतिपक्षी दलको वार्ता निष्कर्षमा पुगेको थिएन । त्यसपछि प्रतिपक्षी दलका १४ बुँदा मान्न सरकार तयार भए पनि बजेट माथिको छलफल ३ बजेको बैठकबाट सुरु भएको हो ।

३ बजे बसेको बैठक लगातार करिब साढे चार घण्टा चलेको थियो । त्यसपछि केही समय बैठक स्थगित गरेर ८ः४५ मा बोलाइएको थियो । उक्त बैठकमा बजेट पारित गरिएको हो । बजेट निणयार्थ प्रस्तुत गर्दा सत्ता पक्षका दलहरूले समर्थन गरेका थिए भने विपक्षी दलहरूले असहमति जनाए ।

यहाँ नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली काँग्रेस सरकारमा छन् । एमाले जसपा र लोसपा प्रतिपक्षमा छन् । उनीहरूको असहमतिका बिचमा सभामुख अर्जुन बहादुर थापाले बहुमतले बजेट पारित गरिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *