नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी – Nepal Press

नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी

काठमाडौं । नयाँ भन्सार एजेन्टमा नाम निकालेकाहरुले भन्सार विभागले इजाजतपत्र दिन आनाकानी गरेको आरोप लगाएका छन् । नयाँ आर्थिक वर्षको पहिलो दुई महिना विदेशबाट धेरै सामान आयात हुने समयमै इजाजत दिन आनाकानी गरेको भन्दै मंगलबार भन्सार विभागसँग नयाँ भन्सार एजेन्टले छलफल गरेका हुन् ।

मंगलबार ३० जना नयाँ भन्सार एजेन्टमा नाम निकालेकाहरुले भन्सार विभागमा गएर इजाजतपत्र छिटो दिन माग गरेका छन् । असार १५ गते भन्सारले नयाँ भन्सार एजेन्टहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । तर, १४ दिनसम्म पनि भन्सार कार्यालयले कुनै जानकारी नगराएको भन्दै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग नयाँ भन्सार एजेन्टहरुले छिट्टै इजाजतपत्र पाउनुपर्ने माग राखेका छन् ।

नयाँ भन्सार एजेन्टमा नाम निकालेका भोलानाथ अर्यालले भन्सार विभगाले नयाँ भन्सार एजेन्टलाई इजाजत दिन आनाकानी गरेको बताए । उनले भने, ‘हामी नयाँ भन्सार एजेन्टहरु हिजो भन्सार विभागमा इजाजत दिन किन ढिला गरेको भनेर छलफल गर्न गएका थियौं । भन्सार विभागले यो आर्थिक वर्ष सकिएपछि इजाजत दिने बताएको छ । नयाँ आर्थिक वर्षको पहिलो २ महिनामा विदेशबाट धेरै सामान आयात हुने भएकाले पनि पुराना भन्सार एजेन्टले नयाँलाई इजाजत दिन रोक लगाएका हुन् ।’

अर्का नयाँ भन्सार एजेन्ट समीरराज विष्टले भन्सार विभागले इजाजत दिन ढिलाइ गरेकाले भन्सार विभागसँग छलफल भएको बताए । अन्तिम नाम सार्वजनिक भएको १४ दिनसम्म पनि कुनै खबर नगरेकाले भन्सार विभागसँग छलफल गरिएएको उनले बताए ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले अन्तिम नाम सार्वजनिक भएको ९० दिनसम्म भन्सार एजेन्टको इजाजत दिनुपर्ने व्यवस्था रहेको बताए ।

उनले भने, ‘आर्थिक वर्षको अन्तिम भएर नयाँ भन्सार एजेन्टको इजाजत केही समय लाग्ने भएको हो । ९० दिनभित्र इजाजत दिनुपर्ने व्यवस्था छ । ६० जनालाई इजाजत दिन पनि विभागले केही तयारी गर्नुपर्छ । हामीले आर्थिक वर्ष सकिएपछि इजाजत दिनेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *