विवाहमा नीतालाई हरिहरको उपहार- २५ लाखको हार ! – Nepal Press

विवाहमा नीतालाई हरिहरको उपहार- २५ लाखको हार !

काठमाडौं । नायिका नीता ढुंगाना र ज्योतिष/अभिनेता हरिहर अधिकारीले भव्य तरिकाले गत शनिबार विवाह गरे । विवाहको दुई दिनपछि आयोजित प्रितिभोजको रौनक झनै बयान गरिनसक्नु थियो ।

विवाह र प्रितिभोज दुवै राजधानीको महंगो पाँचतारो हाटेल याक एन्ड यतिमा भएका हुन् । प्रितिभोजमा होटलको सजावटमा नै लाखौं खर्च गरिएको थियो । चलचित्र क्षेत्रका हस्तिहरुदेखि एकाध राजनीतिकर्मीसमेत समारोहमा देखिएका थिए । काठमाडौंमा मेयर बालेन्द्र साह पनि वरबधुलाई शुभकामना दिन पुगेका थिए ।

पार्टीमा दुलही नीताको पहिरन र श्रृंगारले पनि निकै चर्चा पाइरहेको छ । उनी सेता लेहेंगा र सेतै गरगहनाहरुले झरिझट्ट परेकी थिइन् । उनले घाँटीमा हार, कानमा झुम्का र हातमा बाला एउटै सेटको लगाएकी थिइन् । खासगरि घाँटीमा लगाएको मोटो हिराजडित हारले धेरैको ध्यान खिच्यो ।

सञ्चारकर्मीले नीतालाई सोध्न पनि भ्याए, ‘यो हार हरिहर दाइकै उपहार हो ?’

नीताले मुस्कुराउँदै भनिन्, ‘अरु कसले दिन्छ र ?’ उनले आफ्नो हाइट कम भएकाले मोटो हारका कारण केही असहज भएको गुनासो समेत गरिन् ।

नीताले लगाएको हार नै २५ लाख मूल्यको भएको चर्चा चलेको छ । यद्यपि, उनीहरुले मूल्य बताएका छैनन् । पारिवारिक स्रोतले भने २५ लाखकै हाराहारीको भएको बतायो । नीताले लगाएका अन्य गहना र लुगा पनि उत्तिकै महंगा थिए । हालसालमा विवाह गरेका नायिकाहरुबीच महंगा गहनाको होडजस्तै चलेको छ ।

केही वर्ष प्रेम सम्वन्धमा बसेपछि नीता र हरिहरले लगनगाँठो कसेका हुन् । विहेअघिसम्म उनीहरुले सार्वजनिकरुपमा एक अर्कालाई प्रेमी–प्रेमिकाको रुपमा स्वीकारेका थिएनन् । आफूहरु राम्रो साथी भएको बताउने गर्थे ।

आर्थिकरुपमा सम्पन्न परिवारका हरिहर पेशाले पूर्णकालीन ज्योतिष हुन् । उनी ज्योतिष पेशाबाटै मनग्गे कमाइ गर्छन् । फिल्ममा खासै सफल नभए पनि ज्योतिषका रुपमा उनको हाइप्रोफाइल छवि छ । नक्सालमा अफिस राखेर उनले आगन्तुकहरुको चीना हेर्दै आएका छन् । उनलाई चीना हेराउनका लागि अग्रीम अप्वाइन्टमेन्ट लिनुपर्छ । उनी दैनिक ८–१० जनाको चीना हेर्छन् ।

अभिनेता राजेश हमालले हरिहरलाई नै चीना हेराएर बिहे गरेका थिए । उनले हरिहरलाई चीना हेराउन आफ्नै घरमा लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *