मुद्रास्फीति ८.५६ प्रतिशत, विदेशी मुद्रा सञ्चिती २ खर्ब २२ अर्बले घट्यो, अन्य आर्थिक सूचक कस्तो छ ? (सूचीसहित) – Nepal Press

मुद्रास्फीति ८.५६ प्रतिशत, विदेशी मुद्रा सञ्चिती २ खर्ब २२ अर्बले घट्यो, अन्य आर्थिक सूचक कस्तो छ ? (सूचीसहित)

काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्र बिग्रिँदै गएको छ । अब सत्ता पक्षका नेताहरुले नै देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुने बताउन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको छ । देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालू आवको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रुपैयाँले घटेको हो ।

गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । जुन २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिती घटेको देखिन्छ ।

जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । पछिल्लो एक महिनामा मात्रै मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *