मधेस सरकारको आधा बजेट फ्रिज, असार मसान्तसम्म भुक्तानी दिने व्यवस्था मिलाउन माग – Nepal Press

मधेस सरकारको आधा बजेट फ्रिज, असार मसान्तसम्म भुक्तानी दिने व्यवस्था मिलाउन माग

जनकपुरधाम । मधेस सरकारको आधा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा प्रदेशमा आधा बजेट मात्र खर्च भयो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख आधेश्याम गिरीले ४९ प्रतिशत बजेट फ्रिज भएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटमध्ये ५१ प्रतिशत अर्थात् १७ अर्ब ७६ करोड ३२ लाख ७८ हजार ४४९ रुपैयाँ मात्र खर्च भएको छ ।

चालुतर्फ बिनियोजित १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजारमध्ये ६१ प्रतिशत र पुँजीगततर्फ बिनियोजित १८ अर्ब ५ करोड ८० लाख ८ हजारमध्ये ४३ प्रतिशत बजेट खर्च भएको प्रमुख गिरीको भनाई छ ।

चालु आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयले असार २५ गतेसम्म मात्र भुक्तानीको समय तोकेको थियो । सो अवधिमा प्रदेश सरकारको ५१ प्रतिशत बजेट खर्च भएको देखाएको छ । तर धेरै कामको भुक्तानी हुन नसकेको अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् ।

उनले चालु आर्थिक वर्षको अन्त्यसम्म भुक्तानी निकासाको व्यवस्था गरिदिन संघ सरकारसँग माग समेत गरेका हुन् । संघ सरकार मातहतको महालेखा नियन्त्रकको कार्यालयले असार २५ गतेसम्म मात्र भुक्तानी हुने भन्दै दुई दिन अगाडी मात्र जानकारी गराएकाले कागजात मिलाउन नसकेर पनि धेरै योजनाको भुक्तानी नभएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्धारित समय सीमाको अन्तिम दुई दिन १२÷१२ घण्टा सर्भर डाउन भएकाले पनि कैयौं निकासा भुक्तानी नभएको मन्त्री साहको गुनासो छ । आर्थिक वर्षको अन्त्यको साता दिन अगाडी नै भुक्तानी निकासा बन्द हुने व्यवस्था विभेदकारी रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘भुक्तानी निकासा साता दिन अगाडी नै बन्द गरिने व्यवस्था प्रादेशिक शासनको स्वायत्त अधिकार क्षेत्रमाथि संघ सरकारको अनुचित हस्तक्षेप र नियन्त्रणात्मक दुष्प्रयास भएको ठहर गरेका छौं,’ मन्त्री साहले विज्ञप्तीमा भनेका छन्, ‘प्रदेशका योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन संघ सरकारसँग माग गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *