एनएसए कप नासिर र निभालाई दोहोरो स्वर्ण – Nepal Press

एनएसए कप नासिर र निभालाई दोहोरो स्वर्ण

काठमाडौं । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् ।

नासिरले २०० मिटर एकल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका हुन् ।

उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर एकल मिड्लेमा डुवाना लामाले खुला तर्फ विजयी हात पार्न सफल भएका छिन् । लामाले उक्त दुरी २ मिनट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितेकी थिइन् ।

यस्तै सो स्पर्धामा निभा मास्के २ मिनट ४०.२१ सेकेन्डका साथ दोस्रो र सियरा सुभाङ्गी बजाज ३ मिनट १.७४ सेकेन्डका साथ तेस्रो रहे ।

पुरुष तर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण जिते । उनले सो दुरी २ मिनट १८.५९ सेकेन्डमा पुरा गरे । सेरेन सिंह २ मिनट २९.८९ सेकेन्डमा पुरा गर्दै दोस्रो र २ मिनट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेस्रो भए ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दुरी पुरा गरेकी हुन् । यस्तै दोस्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापति र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेस्रो भइन् ।

पुरुष तर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङ्ग ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोस्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डमा दुरी पुरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेस्रो भए ।

महिला १०० मिटर फ्रि स्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनट २.८७ सेकेन्डमा पुरा गरे । डुवानाको समय १ मिनट ३.७८ सेकेन्डमा पुरा गरिन् । तेस्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनट ५.१७ सेकेन्डमा दुरी पुरा गरिन् ।

पुरुष तर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेस्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८.३७ सेकेन्डमा दुरी पुरा गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर