धनगढीकी उपमेयरको गुनासो – मेयर र प्रशासकीय अधिकृतले बाहिरै बजेट बनाए, यसरी सहकार्य हुन्न (भिडिओ) – Nepal Press

धनगढीकी उपमेयरको गुनासो – मेयर र प्रशासकीय अधिकृतले बाहिरै बजेट बनाए, यसरी सहकार्य हुन्न (भिडिओ)

कैलाली । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी रूपमा बजेट ल्याएको भन्दै उपप्रमुख कन्दकला रानाले विरोध गरेकी छन् ।

धनगढीमा सोमबार देखि सुरु भएको आठौँ नगर सभाको तेस्रो बैठकमा उपप्रमुख रानाले नगर प्रमुख र प्रशासकीय अधिकृतले एकलौटी गरेको आरोप लगाएकी हुन् । उनले आफूलाई बाइपास गरेको समेत गुनासो गरिन् ।

‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई बाइपास गरिएको छ’, उनले भनिन् ‘योजना तर्जुमा समितिको संयोजक म हुँ तर, मलाई यस विषयमा कुनै जानकारी गराइएको छैन ।’

उपप्रमुख रानाले निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको समेत उनले गुनासो पोखिन् ।

नगर सभाको बैठक सुरु गर्दै नगर प्रमुख हमालले दायित्वहरूका कारणले १० करोड बजेट काट्नु परेको नगर सभालाई जानकारी गराएका थिए ।

उनले पुरानो दायित्व तिर्ने र पुराना योजनाहरू सम्पन्न दिने गरी बजेट ल्याइएको बताएको प्रति पनि उपप्रमुख रानाले विरोध गरेकी थिइन् ।

‘पुराना योजना प्राथमिकता दिने र नयाँ नराख्ने भन्ने कुरा त मेयर सापलाई थाहा रहिछ । मलाइ त त्यही पनि थाहा छैन’ उनले सोधिन्, ‘के मलाई यो कुरा जानकारी गराउनु पर्दैन ?’

उपप्रमुखको गुनासो र आक्रोश पछि मेयर हमालले त्यसको प्रष्टीकरण दिएका थिए ।

‘सम्बन्धित शाखाहरूले बजेट कटौती गरेको हो’ उनले भने ‘मैले पनि यहाँ कुनै योजना राखेको वा हटाएको छैन ।’

केही बेर प्रमुख र उपप्रमुखबीच सवाल जवाफ समेत भएको थियो । नगर सभा सदस्यहरूले यस विषयमा सभा सदस्यहरूले पनि यस विषयमा टिप्पणी गर्दा सभा केही समय तनावपूर्ण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *