‘नेपहपको श्रीपेच’ माथि उठ्यो प्रश्न, आयोजक भन्छ- मुकुटको धार्मिक विशेषताबारे अञ्जान थियौँ – Nepal Press

‘नेपहपको श्रीपेच’ माथि उठ्यो प्रश्न, आयोजक भन्छ- मुकुटको धार्मिक विशेषताबारे अञ्जान थियौँ

काठमाडौं । र्‍याप संगीतमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो संस्करण शनिवार सकियो । विजेता बनेका साइमन विष्ट उर्फ भाइवरले ‘नेपहपको श्रीपेच’ पहिरिन सफल भए ।

काठमाडौंका मेयर तथा कार्यक्रमका एक निर्णायक बालेन्द्र साहले विजेतालाई विशेष खालको मुकुट लगाइदिएका थिए । अहिले उक्त मुकुटका विषयमा विवाद उब्जिएको छ ।

एक सम्पदाकर्मीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रियालिटी शोका विजेतालाई लगाइएको यस्तो मुकुट लगाइदिन नमिल्ने तर्क गरेका छन् ।

मिलन रत्न बज्राचार्यले फेसबुकमा लेखेका छन्, ‘यो मुख: (मुकुट) र्‍याप ब्याटल जितेर पाउने पुरस्कार होइन । यो मुख: मा पञ्चतथागत रहेका हुनाले बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने पाउने मुख: हो । यसको महत्त्वलाई ध्यान राखिदिनुहोला । यस्तो काम फेरि नहोस् ।’

नेपाल प्रेससँग यस विषयमा थप कुराकानी गर्दै बज्राचार्यले यस्तो बताए :

पहिला त मैले त्यति ध्यान दिइनँ । तर जब पछि नियालेर हेरेँ, अनि मलाई महसुस भयो कि यो त हाम्रो मुकुट हो । म एक बुद्धिस्ट भएको नाताले मलाई चाहिँ अलिक नराम्रो लाग्यो । हामी बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिशेक दिँदा दिने अभिषेक हो यो श्रीपेच । नेवारीमा यसलाई मुख: भनिन्छ । यो जुनसुकै पूजामा प्रयोग हुने श्रीपेच होइन । यसको लागि एउटा छुट्टै खास पूजा हुन्छ । गुरुहरूबाट मात्र नभएर लामाहरूले पनि एउटा निश्चित ज्ञान प्राप्त भएपछि आफ्नो ज्ञानी शिष्यलाई मात्र लगाइदिने ताज हो यो । यो पञ्चबुद्धवाला श्रीपेच गुरुहरूबाहेक अरूको हातबाट हस्तान्तरण हुँदैन । त्यसैले यदि त्यो त्यही श्रीपेच हो भने त्यसरी प्रयोग नगरौँ । एउटा धार्मिक मान्यता बोकेको चिजलाई यसरी दुरुपयोग गर्न हुँदैन । यो हामी सबै नेपालीदेखि लिएर मुख्यतः बौद्ध धर्माबलम्बीहरुको लागि नराम्रो खबर हो ।

‘नेपहप को श्रीपेच’ का आयोजकले भने कुनै जाति वा धर्मको अनादर गर्न नखोजिएको प्रस्ट पारेको छ । कार्यक्रम निर्माता रोशन श्रेष्ठले झट्ट हेर्दा मन परेपछि यो श्रीपेच प्रयोग गरेको बताए ।

उनको थप भनाइ यस्तो छ:

हाम्रो नेपहप अथवा हिपहपको दुनियाँमा लिडरलाई राजा मान्ने गरिन्छ । यही कारण र प्रोग्रामको थिम पनि ‘नेपहपको श्रीपेच’ भएकोले गर्दा विजेतालाई श्रीपेच लगाइदिनु स्वाभाविक थियो । हामीले पहिला चाहिँ क्राउन प्रयोग गर्ने कि भन्ने पनि सोचेका थियौँ । तर कार्यक्रमको थिमसँग नमिल्ने र क्राउन प्रायः सौन्दर्य प्रतियोगितामा प्रयोग हुने भएकोले गर्दा हामीले त्यो सोच परिवर्तन गर्‍यौँ ।

अहिले प्रयोग गरेको श्रीपेच चाहिँ हामीले देखिसकेपछि ठिक छ नि त भन्ने सोचले ल्याएका थियौँ । खासमा त्यहाँ पाँच वटा बुद्धको मूर्ति पनि भएकोले गर्दा संस्कृतिसमेत झल्किन्छ भन्ने विचारले प्रयोग गरेका हौँ । हामीले आफैँले सोचेर र डिजाइन दिएर त्यो बनाएका पनि होइनौँ । झट्ट हेर्दा मन परेर र प्राचीन संस्कृति झल्किने भएर हामी पनि मोहित भएका थियौँ । हाम्रो थिम र डिजाइन त अर्कै थियो, जुन हाम्रो व्यस्तता र कार्यक्रमको धपेडीले गर्दा बनाउन सकेनौ ।

हामीले कुनै पनि जात, धर्म र संस्कृतिलाई अनादर गर्ने सोचले यो गरेका होइनौँ । अञ्जानमा भएको कुरा हो । हामीलाई त्यतिखेर नै थाहा भएको भए अर्को विकल्प खोज्थ्यौँ । त्यतिखेर कसैले केही भन्नु पनि भएन । अहिले आएर यो कुराहरू आयो । नराम्रो नियतले हामीले एक प्रतिशत पनि केही गरेका छैनौँ ।

यदि गल्ती भएको भए हामी माफी माग्छौँ पनि । कसैलाई बेइज्जत गरौँ, धर्म तोडौँ र अपमान गरौँ भनेर त हामी पनि काम गर्दैनौँ ।

प्रतिक्रिया

One thought on “‘नेपहपको श्रीपेच’ माथि उठ्यो प्रश्न, आयोजक भन्छ- मुकुटको धार्मिक विशेषताबारे अञ्जान थियौँ

  1. श्रीपेज न भन्दा हुन्थाे कि हाम्राे फाेन मा कुराहुँदा भनेकाेत थिएन, केहिकुरा राम्राेसंग बुझेर लेख्दाहुन्थ्याे । तर अायाेजक सम्म पुर्याइ दिनुभएकाे मा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *