लुम्बिनीमा दानपेटिकाको पैसा गन्न ४ दिन लाग्ने, पारदर्शिता देखाउन सिसिटिभी जडान – Nepal Press

लुम्बिनीमा दानपेटिकाको पैसा गन्न ४ दिन लाग्ने, पारदर्शिता देखाउन सिसिटिभी जडान

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । यहाँ जम्मा भएको रकम गन्न ४ दिन लाग्ने भएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र हृदयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको कोषाध्यक्ष भट्टराईले बताए ।

उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ ।

चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए । विगतमा दानपेटिका पटक पटक चोरी हुने गरेको थियो । तर अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए । उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए ।

राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको बताए ।

यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५÷१५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए ।

आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ ।

अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *