दिवाकर घले यू-२० फुटबल टीमको व्यवस्थापक नियुक्त
काठमाडौं । दिवाकर घले गुरुङ यू-२० राष्ट्रिय फुटबल टीमको व्यवस्थापक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार उनलाई व्यवस्थापकमा नियुक्त गरेको जानकारी दिएको छ ।
महावीर क्लबका अध्यक्षसमेत रहेका घलेले जुलाई २५ देखि ३ अगस्टसम्म भारतमा आयोजना हुने यू-२० साफ च्याम्पियनसिपमा टीमको जिम्मेवारी सम्हाल्नेछन् ।
यस्तै उनले यू-२० एएफसी एसिया कप छनोटमा पनि टीमको व्यवस्थापन सम्हाल्नेछन् । एसिया कप छनोट सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुनेछ । हाल राष्ट्रिय यू-२० टीम प्रतियोगिताहरुका लागि बन्द प्रशिक्षणमा रहेको छ ।
नेपालले यू-२० साफको पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछ । भारतसँग तेस्रो खेल ३१ जुलाईमा खेल्नेछ । समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
यू-२० राष्ट्रिय टीम एसिया कप छनोटमा नेपाल कतार, बहराइन, बंगलादेश र भूटानसँगै समूह ‘बी’ मा रहेको छ ।
नेपालले पहिलो खेल भूटानविरुद्ध सेप्टेम्बर १० मा, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध खेल्नेछ । तेस्रो खेलमा बहराइनसँग सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ ।