उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देशव्यापी बजार अनुगमन गरिने – Nepal Press

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देशव्यापी बजार अनुगमन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देशव्यापी बजार अनुगमन हुने भएको छ ।

मन्त्रालयले मातहतका संरचनामार्फत देशव्यापी रूपमा बढी रहेको महँगी र कालोबजारी नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्न लागेको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रहेर अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

उनका अनुसार यसका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा देशव्यापी रूपमा बजार अनुगमन हुनेछ ।

मन्त्री बडूले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएपछि बजार अनुगमनलाई तीव्रता दिन लागिएको बताएका हुन् ।

विभागको नेतृत्वमा, खाद्य विभाग, कृषि विभाग, उद्योग विभाग, गुणस्तर विभाग, नापतौल विभाग, सडक विभाग, यातायात विभाग लगायतका नियमनकारी निकायको संलग्नतामा देशव्यापी रूपमा अनुगमन सुरु गरिने उनले बताए ।

मन्त्री बडूका अनुसार मन्त्रालयले ७७ वटै जिल्लामा बजार अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसमेत गरिसकेको जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, सम्बन्धित सबै नियामक निकाय, सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेश सरकार अन्तर्गतका उपभोक्ता हक हित संरक्षण हेर्ने मन्त्रालय, निर्देशनालय, कार्यालय र सबै स्थानीय तहले समन्वय गरी एकै समयमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउनको लागि सम्बन्धित मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी पनि गरिएको मन्त्रालयले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरीक्षण अधिकृत तोक्न बाँकी रहेका स्थानीय तह तथा सबै प्रदेश सरकार अन्तर्गतका उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण हेर्ने निर्देशनालय र कार्यालयका अधिकृतस्तरका कर्मचारीलाई उपभोक्ता संरक्षण ऐन तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार बजार निरीक्षण अधिकृत तोक्ने लगायतका निर्णय भइसकेका मन्त्री बडूले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *