झरीले फाइनल पुगेका दुवै टीम विजेता घोषित
विराटनगर । विराटनगरमा जारी ११औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको फाइनल झरीले प्रभावित भएपछि अन्तिम दुईमा पुगेका टीमलाई संयुक्त विजेता घोषणा गरिएको छ ।
मंगलबार अपराह्न विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा भएको कार्यक्रममा फाइनलमा पुगेका मोरङ र झापालाई संयुक्त एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको हो ।
तेस्रो स्थानको सुनसरीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ । विजेतालाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले पुरस्कारको चेक, ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।
मोरङ बहिरा क्रिकेट संघ अध्यक्ष मोहन तिवारीको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय सांकेतिक भाषा दोभासे संघका महासचिव सन्तोषी घिमिरेले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय अपांगता महासंघ प्रदेश १ का अध्यक्ष नवीन ढुङ्गेल, राष्ट्रिय बहिरा महासंघ प्रदेश १ समितिका अध्यक्ष सीताराम ओझा, कोशी बहिरा संघका अध्यक्ष सुनिता तिवारीलगायतको उपस्थिति थियो ।