विश्वकप २०२२ मा टीममा २६ खेलाडी राख्न फिफाले दियाे अनुमति
काठमाडौं । कतारमा आयोजना हुने विश्वकपका लागि टीममा २६ खेलाडी राख्न फिफाले अनुमति दिएको छ ।
याे नियम यसअघि कोरोना भाइरस महामारीका बेलामा लागू गरिएको थियो । यसअघि विश्वकपमा २३ जनाकाे टीम हुने व्यवस्था थियो । तर, कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै फिफाले २६ खेलाडीको टीम बनाउन अनुमति दिएको हो ।
यस्तै फिफाले एक खेलमा टीमले सब्स्टिट्युटमा १५ खेलाडीको नाम राख्न पाउने बताएको छ । यो नियम इङल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले माग गरेका थिए ।
‘मलाई लाग्छ सबै खेलाडी खेलका लागि उपलब्ध हुनुपर्छ । यदि टीम ठूलो हुन्छ भने जुनसुकै खेलमा जसलाई पनि परिवर्तन गर्न पाउनुपर्छ’, ग्यारेथले अपीलमा भनेका थिए ।
विश्वकपमा सहभागिता जनाउने ३२ वटा देशले अक्टोबर २० मा खेलाडीहरुको अन्तिम नामावली बुझाइसक्नुपर्नेछ । विश्वकपको उद्घाटन खेल नोभेम्बर २१ मा हुनेछ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्डस्बीच अल थुमामा स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
फिफाले २६ जना खेलाडी र ११ जना अफिसियललाई टीममा राख्न मिल्ने बताएको छ । जसमा एकजना डाक्टर अनिवार्य गरिएको छ ।