प्रदेश १ : बजारभाउ २ महिनामै झण्डै ७ प्रतिशतले बढ्यो (मूल्यसूचीसहित) – Nepal Press

प्रदेश १ : बजारभाउ २ महिनामै झण्डै ७ प्रतिशतले बढ्यो (मूल्यसूचीसहित)

विराटनगर । पछिल्लो दुई महिनायता प्रदेश १ का स्थानीय बजारमा दैनिक उपभोग्य सामग्रीको बजारभाउ ५ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले अस्वाभाविक र अनुचित रूपमा मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् ।

दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, तेल, घीउ, चिनी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थलगायत सम्पूर्ण वस्तुमा अत्यधिक मूल्यवृद्धि हुँदा आम उपभोक्ताको भान्सासमेत महंगिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी महंगिएको नाममा त कहिले कच्चापदार्थको मूल्य बढेको बहानामा पटक–पटक उपभोग्य वस्तुको मूल्य बढारहँदा उपभोक्ता मारमा परेका हुन् ।

एक महिनामै खाने तेल एक लिटरमा ४५ रुपैयाँसम्म मूल्य बढेको छ । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बजारमा पाइने सबै वस्तुमा उच्च विन्दुमा मूल्य बढेका कारण सर्वसाधारणको दैनिकी कष्टकर भएको बताए ।

बजारमा वस्तु र सेवाको मूल्य बढ्दा पनि सरकार निरीह भइरहेको ढुंगेलको भनाइ छ । ढुंगेलले भने, ‘बजारमा हस्तक्षेप गरी मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको हो । सरकारको निरीहपनले अचाक्ली बढेको मूल्यले उपभोक्ता मारमा परेका छन् ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको तथ्याङ्कअनुसार एक वर्षमा खाने तेल एक लिटरमा सय रुपैयाँसम्म मूल्य बढेको छ  । चामल २५ किलोको बोरामा दुई सय रुपैयाँसम्म मूल्य बढेको छ ।

मुुसुरोको दाल किलोमा ४० रुपैयाँले मूल्यवृद्धि भएको छ । भारतमा ३५ रुपैयाँ किलोमा पाइने चिनी नेपाली उपभोक्ताले सय रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख रामप्रसाद वाग्लेले मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरुले दैनिक बजार अनुगमन गर्ने गरेका बताए । उनले उपभोग्य सामग्रीको मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि रहेको बताए ।

मूल्यसूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *