कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउनेबारे परिसंघ र दूतावासबीच छलफल – Nepal Press

कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउनेबारे परिसंघ र दूतावासबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो ।

राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमूलक उद्योगको प्रवर्द्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम गर्दै आएको बताए ।

परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिँदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरेको छ । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमतिसमेत गरेको संघले जनाएको छ ।

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए ।

ब्राजिल कफी, चिनी, भटमास, सोयाबिन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, कृषि परिषद् सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *