एन्फा निर्वाचन : मतदान सुरु – Nepal Press

एन्फा निर्वाचन : मतदान सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बन्द सत्रपछि मतदान सुरु भएको हो ।

एन्फाको आगामी चार वर्षे कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानल नै लिएर चुनावी मैदानमा होमिएका छन् । उनीहरू दुई जनालाई राजीव पौड्यालले चुनौती प्रस्तुत गर्दै छन् ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीर बहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

एन्फाको विधानअनुसार निर्वाचनमा खस्ने कुल मत ८७ हो । एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । गण्डकी प्रदेशका ८ मध्ये ६ र प्रदेश नम्बर १ बाट ११ मध्ये १० जिल्ला केन्द्रीय निर्वाचनमा मताधिकारका लागि चुनिन्छन् ।

गण्डकीबाट गोरखा र कास्की तथा प्रदेश नम्बर १ बाट संखुवासभा प्रदेशको निर्वाचनमा पराजित भएर मताधिकारबाट वञ्चित छन् ।

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाइसकेका छन् ।

त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतीक्षारत चार वटा क्लबसँगै एन्फामा आबद्ध चार वटा संघले मताधिकार पाउँछन् । रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक भोट सुनिश्चित गरिसकेका छन् ।

सबै गरेर एन्फाको केन्द्रीय निर्वाचनमा खस्ने कुल मत ८७ पुग्छ ।

तर, आज हुने एन्फा निर्वाचनमा ८४ भोट मात्रै खस्ने भएको छ । दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका छन् ।

यस्तै, सिरहा जिल्लाबाट मताधिकार पाएका एन्फा कार्यसमिति सदस्य प्रवीणकुमार यादवले समय सीमाभित्र कार्यसमितिबाट राजीनामा नदिएका कारण उनी मतदानमा सहभागी हुन पाउने छैनन् ।

यसअघि निर्वाचन समितिले सरस्वती क्लब, महिला संघ, सिरहा र फ्रेन्ड्स क्लबको मताधिकार खोसेको थियो ।

तर, अपिल कमिटीले सिरहाबाहेक अन्य मतदानमा सहभागी हुन पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर