एन्फा निर्वाचनः सकियो बन्दसत्र, केहीबेरमै मतदान – Nepal Press

एन्फा निर्वाचनः सकियो बन्दसत्र, केहीबेरमै मतदान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी बन्दसत्र सकिएको छ । बन्दसत्रपछि एन्फाको आगामी चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चुनाव हुनेछ ।

एन्फा नेतृत्वको लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा छन् । दुवैले आआफ्नो प्यानल बनाएका छन् । शेर्पा र नेम्वाङसँगै राजीव पौड्यालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

एन्फाको विधानअनुसार निर्वाचनमा खस्ने कुल मत ८७ हो । एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाएका छन् । गण्डकी प्रदेशका ८ मध्ये ६ र प्रदेश नम्बर १ बाट ११ मध्ये १० जिल्लाले केन्द्रीय निर्वाचनमा मताधिकार पाएका छन् ।

गण्डकीबाट गोरखा र कास्की तथा प्रदेश नम्बर १ बाट संखुवासभा प्रदेश निर्वाचनमा पराजित भएर मताधिकारबाट बञ्चित छन् ।

यस्तै सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाएका छन् । त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएका चार वटा क्लब र एन्फामा आवद्ध चार वटा संघले मताधिकार पाउँछन् । रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक भोट सुनिश्चित गरिसकेका छन् ।

भक्तपुर र सिन्धुली जिल्लामा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित छन् । यस्तै मताधिकार पाएको सिरहाका एन्फा कार्यसमिति सदस्य प्रवीणकुमार यादवले राजीनामा नदिएकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।

यसअघि निर्वाचन समितिले सरस्वती क्लब, महिला संघ, सिरहा र फ्रेन्ड्स क्लबको मताधिकार खोसेको थियो । तर, अपील कमिटीले सिरहाबाहेक अन्य मतदानमा सहभागी हुन पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर