खेलकुदमन्त्री अथक स्वदेश फिर्ता, रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा सहमति – Nepal Press

खेलकुदमन्त्री अथक स्वदेश फिर्ता, रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा सहमति

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँचदिने रुस भ्रमण सकेर वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुस भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने उनले विश्वास व्यक्त गरे ।

भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री अथकले जानकारी दिए ।

भ्रमणका क्रममा मन्त्री अथक र भासिलिभिचबीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदानप्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्न छात्रवृत्ति सहयोगलगायत विषयमा छलफल भएको थियो ।

छलफलपश्चात ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’ मा दुई पक्षीय सहमतिसमेत भएको मन्त्री अथकले जनाकारी दिए । रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरुसँग समेत भेटघाट गरेका थिए ।

मन्त्रालयका सचिव डा.दामोदर रेग्मीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक पाँचदिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर