जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ) – Nepal Press

जि-बबको घमण्ड- म सुपरस्टार हुँ, बाबुआमा चाहिँदैन (भिडिओ)

र्‍यापरले जे पनि बोल्न पाउनुपर्छ भन्दै माइकमै मुख छाडे

काठमाडौं । र्‍यापर जि-बब यतिबेला तीब्र विवादमा छन् । आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा दिएको उजुरी र अन्तर्वार्ताका कारण उनको चर्को आलोचना भइरहेको छ ।

आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन जि-बबले आज एउटा प्रेस मिट आयोजना गरे । यो उनको जीवनकै पहिलो प्रेस मिट थियो । तर, हाउभाउ र अभिव्यक्ति हेर्दा कुनै सुपरस्टारको भन्दा कम थिएन ।

त्यसो त पत्रकार सम्मेलनमा जि-बब आफैंले आफूलाई सुपरस्टार घोषणा पनि गरे ।

उनले भने, ‘म सुपर स्टार नै हो । आज तपाईंहरू ८०-५० जना मिडिया आउनुभएको छ । मैले चाहेँ भने ३-४ सय जना मिडिया पनि जम्मा पार्न सक्छु ।’

जि-बब यतिमा रोकिएनन् । उनले आफू ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर भएको अर्को घोषणा गरे ।

‘आई एम बेस्ट अफ दी बेस्ट ब्याटल र्‍यापर एभर अलाइभ इन द युनिभर्स’ उनले भने, ‘यो मैले घमण्ड गरेर भनेको होइन ।’

आजको पत्रकार सम्मेलनको मुख्य विषय चाहिँ जि-बबको व्यक्तिगत र पारिवारिक विवाद थियो । उनले बुबाआमाविरुद्ध आफूले स्वतन्त्रता खोजेको कुरालाई गलतरूपमा बुझिएको गुनासो गरे । जिप्रकामा आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन मात्रै हालेको उनले पटक-पटक दोहोर्‍याए ।

हिजो एक अन्तर्वार्तामा जि-बबले आफ्नी आमामाथि चारित्रिक आरोप लगाएका थिए । आज प्रेसमिटमा उनले त्यसबारे पनि बोले ।

उनले भने, ‘मलाई घरको गोप्य कुरा बाहिर ल्याउन मन थिएन । तर, उहाँहरू (बुबाआमा) ले नै बाहिर ल्याएकाले मैले अन्तर्वार्ता दिएको हुँ । मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो ।’

आमाले आफू एएनटीएफको कब्जामा रहेको भनेर गलत आरोप लगाएको जि-बबले बताए ।

उने भने, ‘म उहाँसँग कन्ट्याक्टमा नबसेको भएर यस्तो आरोप लगाउनुभएको होला । हो म मम्मीसँग कन्ट्याक्टमा बस्दिनँ । मलाई उहाँसँग बोल्नै मन लाग्दैन त के गर्ने ? म ठूलो भएको छोरा हो । मेरो पनि लाइफ हुन्छ नि । तपाईंहरू पनि मेरो ठाउँमा आएर सोच्नु न । मेरो लागि मेरो फेमिली र एएनटीएफ एउटै हो । एएनटीएफ थिएन भने जि-बब हुन्थेन ।’

बाबु भने सानैदेखि आफूसँग टाढा रहेको जि-बबले बताए ।

‘म सानै छँदा दुबई जानुभयो । फोटो देखेको हो । बेलाबेलामा फोनमा कुरा गर्नुहुन्थ्यो । जहिले पनि आईटी पढ भन्नुहुन्थ्यो । मेरो र्‍यापमा बुबाआमाको कुनै सहयोग भएन,’ उनले भने ।

अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए । आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो ।

‘मैले सिध्याउनै खोज्या हो । आई क्यान लिभ अलोन । म अब फेमिलीसँग बस्दिनँ । डेन्जर प्लान बनाइराको छु । म मेरो नयाँ फेमिली बनाउँछु,’ जि-बबले भने ।

पत्रकार सम्मेलनको अन्त्यमा जि-बबले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अश्लिल शब्द बोले ।

उनले भने, ‘हामीलाई यदि दुई प्लस दुई पाँच हो भन्ने लाग्छ भने हामी दुई प्लस दुई पाँच भनिरहन्छौं । त्यो त स्वतन्त्रता हो नि हाम्रो । हामी माइक अगाडि जे पनि भन्न पाउँछौं । हामी मुखै छाड्न पनि पाउँछौं । माइकअगाडि ‘मा…’ भन्नु स्वतन्त्रता हो क्या र्‍याप आर्टिस्टको । कुरा बुझ्नु हुन्न ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *