रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छः अर्थमन्त्री शर्मा – Nepal Press

रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् ।

आईएमई ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए ।

‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको कमाइ सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरु बनिरहेका छन् ।’

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेका नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको अर्थमन्त्री शर्माले प्रशंसा गरेका थिए ।

‘बजेटले रेमिट्यान्सबाट आएको पैसामात्रै ल्याउने उद्देश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदमअघि बढेर विशेष रुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ’, उनले भने, ‘यो भनेको हामीसँग भएको स्रोतसाधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आईएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताए । गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पूँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहे काे उनकाे भनाइ छ ।

‘रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ । पहिले त गाँस, बास र कपासको व्यवस्थापन नै गर्ने हो’, उनले भने, ‘आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *