शुक्रबारदेखि भारतलाई ३६४ मेगावाट विद्युत बेच्दै नेपाल – Nepal Press

शुक्रबारदेखि भारतलाई ३६४ मेगावाट विद्युत बेच्दै नेपाल

काठमाडौं । नेपाल जलस्रोतमा दोस्रो धनी देश हो । तर, यहाँको पानी प्रयोग गरेर नेपालले खासै फाइदा लिन सकेको छैन । केही वर्षअघिसम्म नेपाल र नेपालीले दैनिक १८ घन्टा लामो लोडसेडिङ खेपेका थिए ।

अहिले जलविद्युतमा लगानीसँगै उत्पादन वृद्धि हुँदै आएको छ । जसले गर्दा उत्पादन भएको विद्युत नेपालमा उब्रिन थालेको छ । यसरी उब्रिएको विद्युत भारतमा बिक्री सुरुसमेत भएको छ । यसले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

गत शनिबारदेखि कालीगण्डकीको बिजुली भारत निर्यात सुरु भएको छ । त्यो बेला प्रतियुनिट १९ रुपैयाँमा विद्युत निर्यात भएको हो । जेठ २१ गते नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत पनि भारत निर्यात सुरु भयो । शुक्रबारदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात हुने भएको छ । प्राधिकरणका अनुसार ३१२ मेगावाट विद्युत भारत निर्यात गरिँदा मासिक ७ करोड रुपैयाँ कमाइ भएको छ ।

प्राधिकारणका प्रवक्ता सुरेशबहादुर भट्टराईले शुक्रबारबाट ३६४ मेगावाट विद्युत भारत निर्यात हुने बताए । उनले भने, ‘भोलिबाट ३६४ मेगावाट विद्युत भारत निर्यात हुन्छ । प्रतियुनिट कति मूल्य हो भनेर आज बेलुकासम्म थाहा हुन्छ । अहिले नै मूल्य यति हो भनेर भन्न सकिँदैन ।’

नेपालले भारतलाई ६ वटा जलविद्युत आयोजनाको ३६४ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको थियो । शुक्रबारबाट नेपालले ६ वटा आयोजनाबाटै ३६४ मेगावाट विद्युत निर्यात हुने भट्टराईले बताए ।

नेपालबाट पिक आवरमा कम र पिक आवरभन्दा बाहेकको समयमा धेरै विद्युत निर्यात गर्न सकिने अवस्था छ । बिहान र बेलुकाको समय पिक आवर अर्थात धेरै विद्युत खपत हुने समय हो ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२० नेरु) र २.५० (४ रुपैयाँ नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.१८ (९.८८ नेरु) छ । नेपालको विद्युत भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) खरिद गर्ने अनुमति पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *