बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल, कहाँ छन् नेपाली खेलाडी ? – Nepal Press

बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल, कहाँ छन् नेपाली खेलाडी ?

काठमाडौं । विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् ।

सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ओमानको ३२ खेलबाट ४० अंक छ ।

२० खेलबाट २८ अंक जोड्दै स्कटल्यान्ड दोस्रोमा छ । २२ खेलबाट यूएईको २६, २० खेलबाट अमेरिकाको १८ र नामिबियाको १४ खेलबाट १४ अंक छ । पुछारमा रहेको पपुआ न्युगिनी (पीएनजी)को २० खेलबाट २ अंक रहेको छ ।

विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नेछ । जसमा एउटा टोलीले ३६ खेल खेल्नुपर्नेछ । प्रतियोगिताका शीर्ष तीन टोली आगामी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् । सन् २०१८ मा प्राप्त एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता जोगाउन पनि नेपाललाई विश्वकप लिग २ महत्वपूर्ण मानिएको छ ।

यसअघि अमेरिका, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २०२० को फेब्रुअरीमा नेपालमा भएको थियो । त्यतिबेला नेपालले अमेरिकासँगका दुवै खेल जितेको थियो भने ओमानसँग भएका दुवै खेलमा पराजय ब्यहोरेको थियो ।

त्यसपछि यी नै टोलीबीच ओमानमा गत सेप्टेम्बरमा भएको शृंखलामा नेपालले अमेरिकासँग एक जित र एक हार तथा ओमानसँग पनि एक जित र एक हारको नतिजा निकालेको थियो ।

गत मार्चमा यूएईमा भएको घरेलु टोली र पीएनजी सम्मिलित शृंखलामा नेपालले दुई खेल जितेको थियो भने दुई खेलमा हार ब्यहोरेको थियो । यूएईसँग दुवै खेलमा पराजित भएको नेपालले पीएनजीलाई दुवै खेलमा हराएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हालसम्म २२ खेल खेलेकामा ११ खेल जितेको छ भने ११ खेलमा हार ब्यहोरेको छ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा २८६ रनसम्म बनाएको छ भने २५५ रनसम्म लक्ष्य पूरा गरेको छ ।

शतकबाट उत्साही रोहित र दीपेन्द्र

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने विकेटको अर्धशतक पूरा गर्नबाट एक विकेटले मात्र टाढा छन् । सन्दीपले २२ खेलका २१ पालीमा ५० विकेट लिएका छन् । उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेट लिएका थिए । सोमपाल कामीले १८ पालीमा ३१ र करन केसीले १८ पालीमा २७ विकेट लिएका छन् । सुसन भारीले ९ पालीमा १५ विकेट लिएका छन् ।

ब्याटिङतर्फ रोहित पौडेलले १७ पालीमा पाँच अर्धशतक र एक शतकसहित ६२३ रन बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन् । उनले एकै खेलमा १२६ रनको पाली पनि खेलेका थिए ।

हाल टोलीमा रहेकामध्ये रोहितपछाडि आरिफ शेखले १६ पालीमा एक अर्धशतकसहित ३०० र दीपेन्द्रसिंह ऐरीले १६ पालीमा २९१ रन बनाएका छन् ।

विनोद भण्डारीले १२ पालीमा एक अर्धशतकसहित २४८ रन बनाएका छन् । कुशल भुर्तेलले १२ पालीमा २ अर्धशतकसहित २४३ रन जोडेका छन् । सोमपाल कामीले १५ पालीमा एक अर्धशतकसहित २३८ र आसिफ शेखले ९ पालीमा एक अर्धशतकसहित २१४ रन बनाएका छन् ।

टिम बाहिर रहेका ज्ञानेन्द्र मल्लले १९ पालीमा ४ अर्धशतकसहित ४८० रन बनाएका छन् । संन्न्यास लिइसकेका पारस खड्काले १० पालीमा एक शतक र दुई अर्धशतकसहित ३१५ रन बनाएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरी, पारस खड्का र रोहित पौडेलले मात्र नेपालका लागि शतक बनाएका छन् । टी २० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सानदार लयमा रहेका दीपेन्द्रले गत मार्चमा घरेलु मैदानमा आयोजित पपुआ न्युगिनीविरुद्धको खेलमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए । पपुआ न्युगिनीसँग भएको दुई खेलको त्यस शृंखलामा रोहित पौडेलले पनि शतक बनाएका थिए ।

टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले ३९ खेलका ३४ पालीमा एक शतक र ५ अर्धशतकसहित १,०३३ रन बनाएका छन् । कुशल भुर्तेलले १६ पालीमा एक शतक र ५ अर्धशतकसहित ५७३ रन जोडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर