कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्म – Nepal Press

कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्म

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत् शनिवार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुने छ ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार रातिबाट निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०.७६ नेरु) छ ।

यसै गरी, शनिवार प्राधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विद्युत् बिक्री गरेको छ । औसत मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ ।

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *