मिरुनाले फुर्पासँग मिलापत्र गरेपनि जिप्रकामा मुद्दा यथावत, सजाय हुन सक्ने ! – Nepal Press

मिरुनाले फुर्पासँग मिलापत्र गरेपनि जिप्रकामा मुद्दा यथावत, सजाय हुन सक्ने !

काठमाडौं । आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मिरुना सिंहले एक बौद्ध भिक्षुविरुद्ध प्रहरीमा जाहेरी दिइन् । तर सामाजिक सञ्जालमा तिव्र आलोचना भएपछि उनी आरोपीसँग सम्झौता गर्न बाध्य भइन् ।

हिजो कबड्डी टिमको रोहबरमा मिरुना र आरोपी पक्षबीच वार्ता भएर मिलापत्र गराइएको थियो । महिला हिंसा वा यौनजन्य अपराधसँग सम्बन्धित मुद्दामा यसरी कानूनी दायराभन्दा बाहिर मिलापत्र गराइनु अनुचित र गैर कानूनीसमेत हुन्छ । यस्तोमा मिलापत्र गराउन सहयोग गर्नेहरूलाई समेत सजाय हुन सक्छ । तर, यस प्रकरणमा प्रहरीले यौनजन्य अपराधको साटो अभद्र व्यवहारको मुद्दा चलाएको छ । यद्यपि, यसरी मिलापत्र गर्दैमा यो मुद्दा भने नटुङ्गिने प्रहरी तथा प्रशासनका स्रोतहरूले बताएका छन् ।

मिरुनाले आफूलाई सिभिल मलमा एक व्यक्तिले दुर्व्यवहार गरेको भन्दै आइतबार प्रहरीलाई खबर गरेकी थिइन् । लगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट आएका प्रहरीहरूले आरोपी मुगु स्थायी घर भएका फुर्पा तामाङलाई पक्राउ गरेर लगे । त्यसको भोलिपल्ट मिरुनाले तामाङविरुद्ध जनसेवामा जाहेरी दिएपश्चात् प्रहरीले सिडिओ कार्यालयमा लगेर अभद्र व्यवहारको मुद्दामा म्याद थप गराएको थियो ।

तर, यो विषयले निकै ठूलो विवाद सिर्जना गर्‍यो र सडकमा मिरुनाविरुद्ध प्रदर्शनहरू गरिए । सामाजिक सञ्जालमा चर्को गालीगलौज आउन थालेपछि मिरुना अभिनीत चलचित्र ‘कबड्डी ४’ को टिमले दुई पक्षबीच संवादको पहल लियो । मङ्गलवार दुई पक्ष छलफलमा रहँदा काठमाडौंका सिडिओले ३ हजार धरौटीमा फुर्पालाई छोड्ने आदेश दिए र उनी छुटे ।

हिजै बेलुकी दुई पक्षबीच सहमति भएर मिरुना र फुर्पाले एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मिरुनाको तर्फबाट कबड्डीको टिम र फुर्पाको तर्फबाट बुद्धिस्ट संस्थाका व्यक्तिहरू त्यसमा साक्षी बसेका थिए । उक्त मिलापत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गर्दै मिरुना समक्ष माफी मागेको उल्लेख छ । मिरुनाले पनि उत्पन्न परिस्थितिलाई लिएर बौद्ध धर्माबलम्बिसँग क्षमा याचना गरेकी छन् ।

यो सम्झौता पत्रमा आरोपीले गल्ती स्वीकार गरेकाले यत्तिकै आपसी सहमति गर्न नमिल्ने जानकार बताउँछन् । आरोपीसँग सम्झौता गरे पनि यो विषयमा अहिलेसम्म प्रहरी र प्रशासनलाई कुनै जानकारी गराइएको छैन ।

सम्झौतामा पनि जाहेरी फिर्ता लिने भनिएको छैन । त्यसैले मुद्दाको प्रक्रिया जारी रहने भएको छ ।

प्रहरीले फुर्पालाई पक्राउ गरेको तेस्रो दिन नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

एक वर्षभन्दा कम सजाय हुने मुद्दामा जिप्रकामार्फत कारबाही हुने प्रावधान छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले धरौटीमा छाड्ने आदेश गरे मङ्गलवार । यसको मतलब फुर्पाले अब जिप्रकामा तारेख धाउनुपर्छ । आरोप प्रमाणित भएमा उनीमाथि एक वर्षसम्म कैद सजाय हुन सक्छ ।

घटनामा संलग्नबीच मिलापत्र भए पनि मुद्दा भने कायम रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीले दीपक पौडेलले बताए ।

‘भिक्षुविरुद्धको मुद्दामा मङ्गलवार थुनछेक आदेश मात्र भएको हो । अब फैसलाका लागि आवश्यक प्रक्रियाहरू सुरु हुन्छन्,’ पौडेलले भने ।

बाहिर मिलापत्र भए पनि मुद्दा फिर्ता भएको नमानिने उनको भनाइ छ ।

‘मिलापत्र हुन्थ्यो भने त प्रहरीमा सुरुमै हुन्थ्यो होला । यो विषय पनि अलिक संवेदनशील नै छ,’ पौडेलले भने ।

काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले अनुसन्धान टुङ्ग्याएर मङ्गलवार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *