नेपाल रेडक्रसद्वारा पाँच जिल्लालाई एम्बुलेन्स हस्तान्तरण – Nepal Press

नेपाल रेडक्रसद्वारा पाँच जिल्लालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पाँच जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुंगा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लालाई हस्तान्तरण गरिएको हो ।

सोसाइटीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्रमुख हरि कार्कीले संयुक्त रूपमा जिल्ला शाखा तथा उपशाखाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले एम्बुलेन्स सेवा मोबाइल अस्पतालका रूपमा हुनुपर्ने बताए । उनले सात प्रदेशका आपतकालीन स्वास्थ्य कार्यालयमा रहेका डिस्प्याच सेन्टरको १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने गरी व्यवस्था मिलाउने कार्य यसै वर्षबाट सुरू भएकोे जानकारी दिए ।

१०२ मा फोन प्राप्त भएपछि बिरामीको नजिक रहेको एम्बुलेन्स जीपीएसबाट पत्ता लगाई छिटो सेवा दिने गरी व्यवस्था मिलाउन लागिएको डा. अधिकारीको भनाइ थियो ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक ढकालले संस्थाले ७० जिल्लामा २०० भन्दा बढी एम्बुलेन्स सञ्चालन गरिरहेको बताए । देशैभर सञ्चालन भएका ५ वर्षयताका ‘ग’ वर्गका एम्बुलेन्सहरूलाई स्तरोन्नति गरी ‘ख’ वर्गको बनाउन लागिएको उनले जानकारी दिए ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी नेपाल प्रमुख अजमद उल्लाले आईएफआरसीले थप ३० वटा एम्बुलेन्स तथा विपद् व्यवस्थापन गर्न आवश्यक केही सवारीसाधन सहयोग गर्न लागेको जानकारी दिए ।

उनले नेपाल सरकार र नेपाल रेडक्रससँगै रहेर रेडक्रस कानुनका लागि पहल गरिरहेको जानकारी दिए ।

नेपाल रेडक्रसका अनुसार नेपाल रेडक्रसको सहयोगमा गण्डकी प्रदेशमा स्थापना गरिएको डिस्प्याच सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *