२ महिनापछि अर्थमन्त्री र गभर्नर एउटै मञ्चमा – Nepal Press

२ महिनापछि अर्थमन्त्री र गभर्नर एउटै मञ्चमा

काठमाडौं । झण्डै २ महिनापछि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी एउटै मञ्चमा देखिएका छन् ।

चैतको अन्तिम साता गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेपछि दुईजनाबीच ‘पानी बाराबार’ को अवस्था थियो । अधिकारी सर्वोच्चको आदेशपछि नियमित काममा फर्किसकेका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ७९/८० को बजेटका सन्दर्भमा आज अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गभर्नर अधिकारी उपस्थित छन् ।

अर्थमन्त्री बनेदेखि नै जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई रुचाएका थिएनन् । शर्माले चैत अन्तिम साता मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति नै बनाए । सरकारलाई असहयोग गरेको र गोप्य सूचना बाहिर पठाएको अधिकारीमाथि आरोप थियो ।

तर, सर्वोच्च अदालतको आदेशसँगै अधिकारी पुनर्वहाली भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

स्रोतका अनुसार अदालतले काममा फर्काएपछि अर्थमन्त्री र गभर्नरबीच कुराकानी र भेट भएको थिएन ।

नेपाल राष्ट्र बैंकले ६७औं वार्षिकोत्सव समारोहमा पनि अर्थमन्त्रीलाई निम्तो नगरेपछि टिप्पणी भएको थियो ।

राष्ट्र बैंकले सेयर कर्जामा ठूला खेलाडीहरूले मात्रै एकाधिकार जमाएको भन्दै ४ देखि १२ करोडको सीमा ल्याएपछि दुईजनाबीच खटपट सुरू भएको बताइन्छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर अधिकारीको पदावधि अझै ३ वर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *