विश्वकै सर्वाधिक वार्षिक आम्दानी गर्ने खेलाडी बने मेस्सी, कति कमाए ? – Nepal Press

विश्वकै सर्वाधिक वार्षिक आम्दानी गर्ने खेलाडी बने मेस्सी, कति कमाए ?

लन्डन । फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन–पीएसजीका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी पछिल्लो १२ महिनामा विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्सका अनुसार मेस्सीले पछिल्लो १२ महिनामा १३० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् । मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट यसै सिजनको सुरुवातमा पीएसजीमा आबद्ध भएका हुन् ।

बार्सिलोनाको प्रिमियर लिग टोलीमा उनले १७ वर्ष बिताएका थिए । स्पेनिस क्लबको अन्तिम सिजन मेस्सीले बार्सिलोनाबाट २२ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएको फोर्ब्सले जनाएको छ । यो सिजन उनले पारिश्रमिकबापत पीएसजीबाट ७५ मिलियन अमेरिकी डलर लिएका थिए ।

मेस्सी फोर्ब्सको सबैभन्दा बढी वार्षिक आम्दानी गर्ने खेलाडीको सूचीमा दोस्रोपटक शीर्षस्थानमा परेका हुन् । यसअघि सन् २०१९ मा पनि उनी पहिलो नम्बरमा रहेका थिए ।

गत वर्ष उनी सबैभन्दा बढी वार्षिक आम्दानी गर्ने खेलाडीको सूचीमा, एमएमए फाइटर कनर म्याकग्रेगरपछि दोस्रो स्थानमा रहेका थिए । उनी त्यतिबेला इतिहासमै सबैभन्दा बढी वार्षिक आम्दानी गर्ने फुटबलर बनेका थिए । यो वर्ष मेस्सीका चीर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो ११५ मिलियन अमेरिकी डलरसहित सर्वाधिक वार्षिक आम्दानी गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

१२१.२ मिलियन अमेरिकी डलरसहित एनबीएल क्लब लस एन्जलस लेकर्सका लेब्रन जेम्स दोस्रोमा छन् । उनी एनबीएको इतिहासमै सबैभन्दा बढी वार्षिक आम्दानी गर्ने खेलाडी हुन् । यसअघि गत वर्ष ९६.५ मिलियन अमेरिकी डलर आम्दानी गरेर एनबीए इतिहासमा नयाँ कीर्तिमान बनाएका थिए । जेम्स एक वर्षमा कम्तिमा १०० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने इतिहासका केवल १० औं खेलाडी हुन् । मेस्सी र रोनाल्डोले पाँच–पाँच पटक वार्षिक कम्तिमा १०० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् ।

फोर्ब्सका अनुसार शीर्ष १० खेलाडीले पछिल्लो १२ महिनामा कूल ९९० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर