दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन् पदभार ग्रहण – Nepal Press

दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन् पदभार ग्रहण

गौर। रौतहटको मौलापुर नगरपालिकाकी नवनिर्वाचित मेयर रीना कुमारी साहले पदभार ग्रहण गरेकी छिन् ।

शुक्रबार जिल्ला सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन् ।

मेयर साह मौलापुर नगरपालिकामा दोस्रो पटक निर्वाचित भएकी हुन् । पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा उनले निर्माण गरेको नमुना दलित वस्ती नेपालकै नमुनाको रुपमा चर्चा पाएको थियो । मधेश प्रदेशको प्रथम एवम् एक मात्र महिला मेयरको रुपमा जनपक्षीय काम गरेर चर्चामा रहेकी साहले दोस्रो पटक निर्वाचित हुँदा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

नेकपा एमालेकी उम्मेदवारको रुपमा साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी थिइन भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।

मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका हुन् । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर